मधेश

रौतहटमा घाँटी रेटेर भारतीय नागरिकको हत्या

इकागज |
जेठ २२, २०८१ मंगलबार १४:२२ बजे

रौतहट- भारतीय सिमानासँग जोडिएको रौतहटको राजपुर नगरपालिकामा एक जना भारतीय नागरिकको घाँटी रेटेर हत्या गरिएको अवस्थामा शव फेला परेको छ ।

राजपुर-१ पिपरा भगवानपुरको पूर्वपट्टी इद्रिस गेटछेउ हुलाकी सडक खण्डमा ४५ वर्षीय भारतीय नागरिकको हत्या गरिएको अवस्थामा शव फेला परेको हो । घटना प्रकृतिअनुसार धारिलो हतियारले घाँटी रेटेर हत्या गरिएको प्रहरीको प्रारम्भिक अनुमान रहेको जिल्ला प्रहरी प्रवक्ता डिएसपी एलिजा गिरीले बताएकी छिन् ।


मृतकको गोजीबाट प्राप्त कागज पत्रमा भारत बिहार मोतीहारीको ठेगाना बताइएको छ । तर मृतकको स्पष्ट सनाखत नहुन्जेलसम्मको लागि नाम सार्वजनिक नगरिएको तथा शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल गौरमा पठाइएको प्रवक्ता गिरीले बताएकी छिन् ।

मृतकको शवको केही पर सिजे ०१-२५६८ नम्बरको मोटरसाइकल बरामद भएको छ । उक्त भारतीय नागरिकको सोही ठाउँमा हत्या गरिएको छ वा अन्य ठाउँबाट हत्या गरेर त्यहाँ फालिएको हो खुल्न सकेको छैन ।

हत्या कसले र किन गरेको हो त्यस सम्बन्धमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

मृतकको शव र मोटरसाइकल बेवारिसे अवस्थामा देखेर स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।


Author

थप समाचार
x