मधेश

समुन्‍नत लहान बनाउने लक्ष्यसहित नीति, कार्यक्रम तथा बजेट

इकागज |
असार ९, २०८१ आइतबार २१:५० बजे

सिरहा- सिरहाको लहान नगरपालिकाले आर्थिक वर्ष २०८१/८२ का लागि रु एक अर्ब २३ करोड एक लाख ९२ हजारको बजेट सार्वजनिक गरेको छ । 

११४औँ नगरसभामा आज सार्वजनिक नीति तथा कार्यक्रम र बजेटमा नगरप्रमुख महेशप्रसाद चौधरीले ‘हाम्रो सुन्दर, समुन्नत र सभ्य लहान’ निर्माणको नारालाई मूलमन्त्रका रूपमा अगाडि सारिएको बताए । नागरिकको सर्वाङ्गीण हितलाई केन्द्रमा राखी विगतमा सञ्चालित अधुरा आयोजनालाई सम्पन्न गर्दै नवप्रवर्तन, रोजगारमुलक तथा आयामिक क्षेत्रगत योजना यस बजेटमार्फत अघि सारिएको नगरप्रमुख चौधरीले जानकारी दिए । 


नीति तथा कार्यक्रम र बजेटमार्फत नगरपालिकाले शिक्षा, स्वास्थ्य र कृषिलाई प्राथमिकता दिएको छ । पूर्वाधार एवं सहरी विकास, पर्यटन, सामाजिक सुरक्षा, रोजगारलगायत आर्थिक विकास तथा गरिबी निवारणमा प्रत्यक्ष योगदान पुर्याउन स्थानीय उत्पादनलाई बढावा दिनेगरी बजेट प्रस्तुत गरिएको छ । 

नगरपालिकाले शिक्षातर्फ सामुदायिक विद्यालयका उत्कृष्ट दलित विद्यार्थीहरूलाई उच्च शिक्षाको लागि पूर्ण छात्रवृत्ति, २४ वटै वडामा रहेका दलित समुदायका लागि ४० वटा ‘ट्युसन’ कक्षाको व्यवस्था जस्ता कार्यक्रमलाई आगामी आवमा पनि निरन्तरता दिने उल्लेख गरिएको छ । यस्तै, स्थानीय पाठ्यक्रम निर्माण, विद्यालयमा नर्सको व्यवस्था, छात्रावाससहितको प्राविधिक विद्यालय सञ्चालन गर्नेजस्ता २६ बुँदे कार्यक्रम तय गरिएको छ । 

नगरपालिकाले ‘एक कक्षा, एक कम्प्युटर’ वितरण गर्ने लक्ष्यसमेत तय गरेको छ । भौतिक पूर्वाधारअन्तर्गत यस आर्थिक वर्षभित्रमा नगर क्षेत्रभित्र करिब २५ किलोमिटर पक्की सडक निर्माण गरिएको र आगामी आवमा भौतिक पूर्वाधारमा करिब ४० प्रतिशत बजेट विनियोजन गरिएको छ । कृषि सडक निर्माण, ५० वटा पोल बत्ती जडान, लहानको आँपलाई ब्राण्डिङ गरी बजारीकरण, कृषिक तथा कृषि क्षेत्रलाई प्राथमिकता साथ अगाडि बढाइएको र आगामी वर्षमा पनि निरन्तरता दिइने जनाइएको छ ।

नीति तथा कार्यक्रमले नगरक्षेत्रका नागरिकको जन्मदर्ता, विवाहदर्ता, मृत्युदर्ता तथा नागरिकताको सिफारिसमा निःशुल्क गर्ने कार्यलाई निरन्तरता दिएको छ । कृषिमा यान्त्रिकीकरणका लागि कृषकलाई सहुलियत दरमा कृषि उपकरण सेवा उपलब्ध गराउने, अनलाइन सूचीकरण गरी किसान कार्ड लागू गर्ने, कृषि सिँचाइ, डिपबोरिङ, सतह सिँचाइ सुविधा, कृषि सिँचाइ तथा विद्युत् मिटरमा अनुदान व्यवस्थालाई निरन्तरता दिइने बजेटमा उल्लेख गरिएको छ ।

नीति तथा कार्यक्रममा मिथिला कला, संस्कृतिको जगेर्ना गर्दै युवालाई उत्पादनमुखी बनाउन विभिन्न सरोकारवाला निकायको साझेदारीमा स्वरोजगार अभियान सञ्चालन गर्ने उल्लेख छ । नगरभित्रका पर्यटकीयस्थल सलहेश फूलबारी, मानिक दह, हात्ती दह, राजदेवी मन्दिरलगायत ऐतिहासिक, प्राकृतिक, सांस्कृतिक र धार्मिक महत्वका धरोहरलाई विशेष महत्व दिई पर्यटन प्रवर्द्धनको माध्यमबाट नगरको विकास गर्ने नीति लिएको छ । संस्कृतिको जगेर्ना तथा मौलिक पहिचान संरक्षण, होम स्टे, पर्यापर्यटनमा नगरपालिकाको जोड छ । 

नीति तथा कार्यक्रमले विपद् व्यवस्थापनका लागि नदी नियन्त्रण, चुरे संरक्षण, पानी सञ्चित हुने ठूला पानी पोखरी निर्माण तथा वृक्षारोपण कार्यक्रम सञ्चालन गर्ने लक्ष्य राखेको छ । नगरप्रमुख चौधरीले विकास निर्माणका साथै शिक्षा, स्वास्थ्य, रोजगार र समतामुलक समाज निर्माणमा पार्टीगत स्वार्थभन्दा माथि उठेर आफूलाई समर्पित गरेको बताए। 


Author

थप समाचार
x