मधेश

वनको जग्गा अतिक्रमण गरी बनाइएको घरमा वन कार्यालयले चलायो डोजर

इकागज |
असार ११, २०८१ मंगलबार १९:२ बजे

सिरहा- सिरहामा वनको जग्गा अतिक्रमण गरी बनाइएको घरमा डिभिजन वन कार्यालयले डोजर चलाएको छ । करिब २ वर्ष अगाडि पूर्व पश्चिम राजमार्ग संगै टाँसिएको करिब ४ कठ्ठा वनको जग्गा अतिक्रमण गरी बनाएको चार कोठे घरमा डिभिजन वन कार्यालय लहानले आज डोजर लगाएर घर भत्काएको हो । 

जिल्लाको गोलबजार नगरपालिका ९ चोहर्वा ब्यारेक नजिक स्थानीय सत्यदेव यादवले वनको करिब करोडौंको जग्गा अतिक्रमण गरी चार कोठे भवन बनाएका थिए ।


निर्माणाधीन अवस्थामै वन कार्यालयले निर्माण कार्य रोक्न मौखिक तथा लिखित अनुरोध गर्दागर्दै निर्माण गरेको भन्दै वनको अतिक्रमण नियन्त्रण गर्ने योजनाअनुसार आज घर भत्काएको डिभिजनल वन कार्यालय लहानका अधिकृत सुजीतकुमार झाले जानकारी दिए । 

वनको जमिनमा घर निर्माणकै क्रममा पटक पटक मौखिक तथा लिखित जानकारी गराउँदा–गराउँदै पनि २०७९ को निर्वाचनको समय पारेर घर निर्माण गरेको झाले बताए । 

वन अधिकृत झाले भने, ‘हामीले निर्माणकै क्रममा पटक पटक मौखिक तथा लिखित सूचना गरेकै हो । उहाँले कर्मचारी निर्वाचनमा खटिएको मौका छोपेर, मतदानको दिन पारेर छत ढलान गर्नुभयो । आज हामीले सबै प्रकृया पुरा गरेर घर भत्काएका हौं ।’

उनले कार्यालयबाट १५ दिने सूचना काटेर आज नेपाल प्रहरी, सशस्त्र प्रहरीको सहयोगमा जग्गा खाली गराएको जानकारी दिए । 

सोही वडाका वडा अध्यक्ष सुरेन्द्रकुमार सिंहले पनि निर्माणका क्रममा आफूले लिखित र मौखिक रूपमा घर नबनाउन भने पनि उनले अटेर गरेर घर बनाएको बताए ।

यादवको वनसँगै जोडिएको घरमा तीन तल्ले भवन रहेको छ । उनले आफ्नो अगाडिको सरकारी जमिन भएकोले आफूहरूले प्रयोग गरेको दाबी गरे । उनले भने, ‘हाम्रो अगाडीको जमिन हो, अन्यले पनि प्रयोग गरिरहेका छन्, मारुती सिमेन्ट उद्योगले प्रयोग गरिरहेको छ । हामीले पनि घर बनायौं ।’

'तपाईँहरूको घर हो भन्नुहुन्छ, किन भत्कायो ?' भनि सोध्दा ‘मैले बोलेर घर फर्किन्छ र ?' भन्दै प्रतिक्रिया दिन चाहेनन् । सिरहामा भू-माफियाहरूले राजनीतिक प्रभावमा व्यापक रूपमा वनको जग्गाहरू अतिक्रमण गरेको स्थानीयहरूको भनाइ छ । अतिक्रमित जग्गाहरू संरक्षण गर्नुपर्न स्थानीयहरूको माग छ ।


Author

थप समाचार
x