मधेश

एसइईमा शतप्रतिशत अंक ल्याएर जिल्लाको मान राखिन् अञ्जलीले

इकागज |
असार १३, २०८१ बिहीबार १७:३५ बजे

रौतहट- शिक्षा र साक्षरताको क्षेत्रमा देशकै पुछारमा रहेको सिंगो रौतहट जिल्लामा एक जना छात्राले उत्कृष्ट नतिजा ल्याएकी छिन् ।

अञ्जलीकुमारी झाले एसइई परीक्षामा शतप्रतिशत पूर्णाङ्क ल्याएर मान राखेकी हुन् ।


बिहीबार प्रकाशित भएको २०८० सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजामा शतप्रतिशत अंक (फोर जिपिए) ल्याएर अञ्जलीले सिंगो जिल्लाकै मान राखेकी हुन् ।

रौतहटको पूर्वी भेग दुर्गा भगवती गाउँपालिका-३ मत्सरी गाउँका अशोक झाकी छोरी अञ्जलीले वडा नम्बर १ स्थित बाल निकेतन रेसिडेन्टल स्कुलमा प्रारम्भिक शिक्षा कक्षा १ देखि ७ सम्म अध्ययन गरेकी थिइन् ।

सुरुदेखि नै अत्यन्तै लगनशील, मिहिनेती र अनुशासित छात्राको रूपमा रहेकी विद्यालयका संस्थापक अश्वीन चौधरीले बताएका छन् ।

उनी कक्षा ८ देखि सरस्वती माध्यमिक विद्यालय पिपरा भलोहियामा अध्ययन गरिरहेकी थिइन् ।

प्रकाशित भएको नतिजाअनुसार उनी शतप्रतिशत अर्थात (४ जिपिए) ल्याए उत्तीर्ण भएकी हुन् । सिंगो नेपालमै १८६ जना परीक्षार्थीले मात्रै उनको बराबर नम्बर ल्याउन सकेको देखिन्छ ।

एसइई परीक्षाको नतिजामा देशभरिमा शतप्रतिशत (४ जिपिए) नम्बर ल्याएर १८६ जना छात्रछात्राहरू उत्तीर्णमध्ये अञ्जली पनि एक हुन् ।

जिल्ला शिक्षा समन्वय इकाई रौतहटका परीक्षा सहायक दीपेन्द्र सिंहले पनि जिल्लामा शतप्रतिशत ल्याउने एक जना अञ्जलीकुमारी झा मात्र रहेको पुष्टि गरेका छन् ।

परीक्षा सहायक सिंहका अनुसार एसइई परीक्षा २०८० मा रौतहटबाट कुल सहभागी ९ हजार १९३ परीक्षार्थीमध्ये ६ हजार ४८५ जना विभिन्न जिपिए ल्याएर उत्तीर्ण भएका छन् । बाँकी २ हजार ७०८ जना परीक्षार्थी अनुत्तीर्ण भएको जिल्ला समन्वय इकाई रौतहटले जनाएको छ ।


Author

थप समाचार
x