मधेश

चाँदीको मण्डपसहित गहवामाईको रथयात्रा हुँदै

इकागज |
असार १४, २०८१ शुक्रबार ८:१ बजे

वीरगञ्ज (पर्सा)- यहाँको प्रसिद्ध गहवामाईको  रथयात्रा यही असारको २३ गते हुने भएको छ । 

गहवामाईको नवनिर्मित मन्दिरको १२औँ वार्षिकोत्सवका अवसरमा आयोजना हुने रथयात्रामा भारतसहित मधेस प्रदेशका एक लाखभन्दा धेरैको सहभागिता रहने गहवामाई रथयात्रा समितिले जनाएको छ ।


समितिका अध्यक्ष श्याम पोखरेलले रथयात्राको तयारी अन्तिम चरणमा पुगेको बताए । “हामीले गत वर्षदेखि गहवामाईको रथयात्रा निकाल्न सुरु गरेका हौँ । भक्तजनको उत्साहजनक सहभागिता भएकाले  यो वर्ष पनि निरन्तरता दिनेछौँ ।  ऐतिहासिक तथा सांस्कृतिक धरोहरलाई मुलुकभर चिनाउन  रथयात्रा गर्न लागेका हौँ”, उनले भने ।

अध्यक्ष पोखरेलले गहवामाईको रथमा १५ किलोको चाँदीको मण्डप बनाउन लागेको बताए । 

गहवामाई रथयात्रा समितिका सल्लाहकार दिनाप्रसाद गुप्ताले गहवामाई माताको पूजा आराधनासँगसँगै पर्यटकीय क्षेत्रको प्रचारप्रसारका लागि रथयात्रा आयोजना हुन लागेको बताए । चाँदीको मण्डपसहितको रथयात्राका निम्ति रु ४० लाख विनियोजन गरिएको छ । एक महिनादेखि काष्ठकर्मीहरू गहवामाईको रथ निर्माणमा जुटेका छन् । रासस


Author

थप समाचार
x