मधेश

उच्च शिक्षा अध्ययनका लागि हिँडेकी नेहाको दुर्घटनामा मृत्यु भएपछि सिंगो गाउँ शोकमग्‍न

इकागज |
असार १५, २०८१ शनिबार २०:० बजे

रौतहट- उच्च शिक्षा अध्ययनका लागि हिँडेकी एक जना छात्राको रौतहटस्थित गौर चन्दरनिगाहपुर सडक खण्डमा बस दुर्घटनामा परेर मृत्यु भएको छ ।

गौरबाट भैरहवातर्फ गइरहेका ना.७ खं ८४१४ नम्बरको बस जयनगर चोकमा शनिवार बिहान ८ बजे आफैँ अनियन्त्रित भई दुर्घटना हुँदा माधवनारायण नगरपालिका ३ भेल्हीका शैलेन्द्र कुमार गिरीको १८ वर्षीया छोरी नेहाकुमारी गिरीको मृत्यु भएको इलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डिएसपी रामेश्वर त्वातीले बताएका छन् ।


माधव नारायण नगरपालिका ३ सखुअवास्थित श्री देवी माध्यमिक विद्यालयबाट एसइई २०८० मा ३.२३ जिपिए ल्याएर उत्तीर्ण भएकी नेहा कुमारी गिरी उच्च शिक्षा अध्ययनका लागि घरबाट वीरगन्ज जाने क्रममा आज बिहानै बस दुर्घटना हुँदा मृत्यु भएको थियो । उनको मृत्युको खबरले सिंगो गाउँ नै शोकमग्न बनेको छ ।

दुई दिनअघि छोरी एसइई पास भएको जानकारी पाएपछि परिवारको सल्लाहअनुसार उच्च शिक्षा अध्ययन गरेर देशको सेवा गर्छिन् भनी ठूलो आकांक्षाका साथ नेहालाई वीरगन्ज पठाएको थिए । तर, नेहाको मृत्युको खबरले सिंगो परिवारमाथि बज्रपात खसेको नेहाका बाबु शैलेन्द्रकुमार गिरीले दुखेसो पोखेका छन् ।

दुर्घटनामा गिरीको मृत्युसंगै अन्य १३ जना यात्रु घाइते भएका छन् । प्रत्यक्षदर्शी कटहरिया ३ का अमरलाल साहका अनुसार तीव्र गतिमा रहेको बसले अर्को गाडीलाई ओभरटेक गर्दा अगाडिको दाहिने चक्का खाडलमा परेर बस पल्टिएको बताएका छन् ।

दुर्घटना लगत्तै फरार भएका बस चालक चन्द्रपुर नगरपालिका ८ मोतिपुर बस्ने वर्ष ३९ को सहदेव चौधरीलाई प्रहरीले उसको घरैबाट पक्राउ गरेको छ । बस चालक चौधरी इलाका प्रहरी कार्यालय चन्दरनिगाहपुरको नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।


Author

थप समाचार
x