सरकारी एम्बुलेन्स थन्क्याइयो, सर्वसाधारणलाई सास्ती
सर्लाही : जिल्ला अस्पताल सर्लाहीमा रहेका एम्बुलेन्स र शवबाहन प्रयोगबिहीन हुँदा बिरामीलाई मर्का परेको छ । सरकारी बजेटबाट खरिद गरिएका एम्बुलेन्स र शवबाहन तीन महिनादेखि अस्पताल परिसरमै थन्क्याइएको छ तर विरामी भने निजीमा धेरै रकम तिरेर उपचारका लागि जान बाध्य छन् ।
विसं २०७७ असारमै टेण्डर आह्वान गरेर एम्बुलेन्स र शवबाहन खरिद प्रक्रिया अघि बढाइएको भएपनि विविध कानूनी जटिलताका कारण तीन महिना अघि मात्र एउटा एम्बुलेन्स र एउटा शवबाहन खरिद गरिएको थियो । अस्पतालसँग पहिला नै एउटा एम्बुलेन्स रहेको थियो तर बिरामीको उद्धारमा भने तीनवटै सवारी साधन नचल्दा बिरामीहरु समयमै थप उपचार सेवा पाउनबाट बञ्चित भएका छन् भने बाहिर उपचारका लागि जानुपर्दा निजी क्षेत्रका एम्बुलेन्स र शवबाहन प्रयोग गर्नुपर्दा निकै समस्या भएको बिरामीका आफन्तहरुले गुनासो गरेका छन् ।
जिल्ला अस्पतालमा करारमा तीनजना चालक नियुक्त गरिएका छन् । एउटा कार्यालयको जीप अनि दुईवटा एम्बुलेन्स र एउटा शवबाहन गरी अस्पतालमा चार वटा साना सवारी साधन रहेका छन् तर कार्यालयको पीकअप भ्यान बाहेक दुईवटा एम्बुलेन्स र एउटा शवबाहन भने महिनौदेखि प्रयोगबिहीन भएका छन् । जिल्ला अस्पतालमा एउटा मात्र एउटा एम्बुलेन्स हुँदा समस्या भएको गुनासो आएपछि प्रदेश २ सरकारले थप एउटा एम्बुलेन्स र एउटा शवबाहन खरिदका लागि रु २० लाख ७० हजार बजेट उपलब्ध गराएको थियो । उक्त बजेटबाट टेण्टर प्रक्रियाअनुसार तीन महिनाअघि नै एक एम्बुलेन्स र एक शवबाहन खरिद गरी अस्पतालमा ल्याइएको थियो । पुरानै एउटा एम्बुलेन्स रहेको अस्पतालमा थप एउटा नयाँ एम्बुलेन्स र एउटा शवबाहन आएपछि व्यवस्थापन पक्षले सेवाप्रवाहमा सहज हुने अपेक्षा गरेको थियो ।
करारमा नियुक्त भएका चालकहरुले आफ्नै लगानीमा एम्बुलेन्स खरिद गरेका छन् । यसरी उनीहरु अस्पतालका एम्बुलेन्स र शवबाहन थन्क्याएर आफ्नो एम्बुलेन्स चलाउने गर्दछन् । अस्पताल व्यवस्थापन एवं स्थानीयले यो नदेखेका होइनन् तर कुनै कारबाही अघि बढाउँदैनन् । अस्पतालका स्वास्थ्य निरप्क्षक श्रीप्रसाद साहका अनुसार एम्बुलेन्स र शवबाहनका लागि नियुक्त भएका चालकहरू आरामले तलब भत्ता खाइरहेका छन् तर सवारी भने आफ्नो निजी चलाएर दैनिक आम्दानी गर्ने गर्दछन् । उनीहरुले आफ्नै लगानीमा प्रमाण नदेखिने गरी निजी एम्बुलेन्स सञ्चालन गरिरहेका छन् र अस्पतालमा आउने हरेक बिरामीलाई उनीहरुकै इसारामा निजी एम्बुलेन्समा महङ्गो भाडा लिएर ओसारपसार गर्ने गरेका छन् ।
जिल्ला अस्पताल विकास समितिका अध्यक्ष रघुनाथ राउत, जिल्ला समन्वय समिति सर्लाहीका सभापति मेथुर चौधरी, मलंगवा नगरपालिकाका नगर प्रमुख निरसल साह, भर्खरै सरुवा भएर आएका अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेण्ट डा.नवलकिशोर झालगायतको अनौपचारिक बैठक बसेर यस विषयमा कुरा गरेको भए पनि यो अनियमिता रोक्ने विषयमा कुनै निर्णय भएको छैन ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया