मधेश

‘विद्यालय तहबाट नै खेलकुदको विकास गर्न जरुरी छ’

इकागज |
असार २३, २०८१ आइतबार २१:५० बजे

जनकपुर- मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले देशका लागि अनुशासित, सभ्य तथा सु–संस्कृत नागरिक तयार गर्न विद्यालय तहबाट नै खेलकुदको विकासमा लाग्नुपर्ने बताएका छन् । उनले त्यसका लागि प्रदेश सरकारले खेलकुद ऐन बनाउने तयारी गरेको जानकारी दिए ।

ओलम्पिक दिवस २०२४ का अवसरमा मधेस प्रदेश स्पोर्टस फर अल कमिसनद्वारा सञ्चालन भएको विद्यालयस्तरीय खेलकुद प्रतियोगितामा विजयी खेलाडीलाई पदक तथा प्रमाणपत्र वितरण गर्दै आज जनकपुरधामा उनले यस्तो बताएका हुन् ।


मुख्यमन्त्री सिंहले नियमित खेलकुदको अभ्यासका लागि जनकपुरधाम, राजविराज तथा वीरगन्जमा स्तरीय रङ्गशाला निर्माण गर्न सरकारले योजना अगाडि बढाउने उल्लेख गरे । 

जनकपुरधाम उपमहानगरपालिका प्रमुख मनोजकुमार साहले खेलकुदको विकासका लागि  उपमहानगरले विभिन्न वडामा खेलकुद मैदान निर्माणमा जोड दिनुका साथै विभिन्न प्रतियोगिता सञ्चालन गर्दै आएको बताए ।

नेपाल ओलम्पिक कमिटीका अध्यक्ष विष्णुगोपाल श्रेष्ठले ओलम्पिक दिवसका अवसरमा मधेस प्रदेशले विभिन्न विद्यालयमा खेलकुदको आयोजना गरेर निकै सराहनीय काम गरेको बताए ।

कमिसनका अध्यक्ष एवं जनकपुरधाम उपमहानगरपालिकाका पूर्वप्रमुख बजरङ्गप्रसाद साहको अध्यक्षतामा भएको कार्यक्रममा महासचिव एवं सङ्कटमोचन देवशरण रामरती माध्यमिक विद्यालयका प्रधानाध्यापक बलिराम साहसहितका वक्ताहरूको सहभागिता थियो ।


Author

थप समाचार
x