मधेश

लालबकैया नदीको बाँध क्षतिग्रस्त, मेयरसहित सुरक्षा निकायका प्रमुखहरूद्वारा निरीक्षण

इकागज |
असार २४, २०८१ सोमबार २०:५७ बजे

रौतहट- यस पटक मनसुन सक्रिय भएसंगै दैनिक जसो आउने गरेको बाढीको पानीले रौतहटस्थित लालबकैया नदी र बागमती नदीको बाँधमा कैयौं स्थानमा क्षति पुर्याएको छ । 

क्षतिग्रस्त बाँधको समयमा मर्मत सम्भार नभएको अवस्थामा जिल्लाको पूर्वी भेगस्थित बागमती नदी र पश्चिममा लालबकैया नदीमा आउने ठूलो बाढीले जनधनको क्षति हुनसक्ने सम्भावना रहेको छ ।


यसैबीच लालबकैया नदी नियन्त्रणका लागि मौलापुर नगरप्रमुख मेयर रिनाकुमारी साहको सक्रियतामा सोमबार रौतहट जिल्ला विपद व्यवस्थापन समितिद्वारा मर्यादपुरस्थित जोखिमपूर्ण बाँधको निरीक्षण तथा अनुगमन गरिएको छ ।

मेयर साह, उपमेयर नागेन्द्र यादव, विपद व्यवस्थापन समितिका अध्यक्ष तथा सिडिओ हिरालाल रेग्मी, नेपाल प्रहरीका एसपी दिलीप घिमिरे, सशस्त्र प्रहरीका एसपी बिक्रम हुमागाईं, मौलापुरका प्रमुख प्रशासकीय अधिकृत रामबाबु साह, आम विद्यार्थी मोर्चाका अध्यक्ष बिवेककुमार साह, दलित मोर्चाका अध्यक्ष ठागा दाससहित सुरक्षा निकायका प्रमुखहरूको टोलीले मौलापुर १ मर्यादपुरस्थित बाँधको निरीक्षण गरेको थियो ।

टोलीले बाँधमा देखिएका समस्याको समाधान गर्न समयमा पहल गरिने प्रतिबद्धता व्यक्त गरेका थिए । मर्यादपुर छेउ लालबकैया नदीको बाँधमा झण्डै सात सय मिटर क्षतिग्रस्त अवस्थामा देखिएको टोलीमा सहभागी सशस्त्र प्रहरीका एसपी बिक्रम हुमागाईंले जानकारी दिएका छन् । जल उत्पन्न प्रकोप तथा नदी नियन्त्रण कार्यालय परवानीपुरमा यस पटक आवश्यक बजेटको व्यवस्था नहुँदा आकस्मिक रूपमा नदी नियन्त्रणमा स्थानीय निकाय, सशस्त्र प्रहरी, नेपाल प्रहरी र आवश्यकता अनुसार नेपाली सेनाको सहयोग लिनुपर्छ अवस्था देखिएको सशस्त्रका एसपी हुमागाईंले जानकारी दिएका छन् ।

मर्यादपुर छेउको बाँधमा नदीको पानीभन्दा पनि वर्षाको पानीले क्षति पुर्याएको अनुगमन टोलीको निष्कर्ष रहेको छ । हाल लालबकैया र बागमती नदीको कैयौँ स्थानमा बाँधमा देखिएको क्षतिको वर्षात सुरु हुनु अघि मर्मत गर्नुपर्ने आवश्यकता रहेको स्थानीयहरूले बताएका छन् ।


Author

थप समाचार
x