मधेश

खुल्न थाले सरकारी कार्यालय

इकागज |
असार ८, २०७८ मंगलबार १०:० बजे

जनकपुरधाम : कोरोना संक्रमणदर घटेको  भन्दै सेवाग्राहीका लागि धनुषास्थित सरकारी कार्यालयहरू मंगलबारदेखि सञ्‍चालनमा आउने आएको छ । जिल्ला प्रशासन कार्यालय र यातायात व्यवस्था कार्यालय सेवाग्राहीका लागि खुलेको छ ।

जिल्ला प्रशासन कार्यालय धनुषाले एक सूचना गरी सरकारी/अर्धसरकारी/संस्थानहरू आलोपालो गरी खोल्न निर्देशन दिएको थियो । जिल्ला प्रशासन कार्यलय समेतले आलोपालो गरी विभिन्‍न स्थानीय तहका सेवाग्राहीलाई सेवा दिने शुरू भएको छ ।


त्यस्तै लामो समयदेखि बन्द रहेको यातायात व्यवस्था कार्यालय जनकपुरधाम खुला गर्ने निर्णय भएको छ । कार्यालयका निमित्त प्रमुख वीरेन्द्र यादवले सोमबार एक सूचना जारी गर्दै मंगलबारदेखि भीडभाड नहुनेगरी स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाई कार्यालयको सेवा सुचारु हुने जानकारी दिएका छन् । यातायात कार्यालयको सेवाहरू सुचारु भए पनि तत्काल सबै सेवा सुचारु नहुने निमित्त प्रमुख यादवले जानकारी दिए ।

तत्काल कार्यालयबाट अस्थायी ईजाजत पत्र, तत्काल नबुझाए जरिवाना लाग्‍ने प्रकृतिका सवारी कर, नविकरण, बाटो इजाजत पत्र, राजश्व दाखिला सेवा, तत्काल नविकरण नभएमा जरिवाना लाग्‍ने सवारी चालक अनुमति पत्र नविकरण, प्रयोगात्मक परीक्षा पास भई राजश्व बुझाउन बाँकी सेवाग्राहीहरूको राजश्व बुझाउने सेवा मात्र सुचारु हुने कार्यालयले जनाएको छ ।

नयाँ तथा वर्ग थपको आवेदन अर्को सूचना जारी नभए सम्मको लागि स्थगित नै रहेको यातायात कार्यालय जनकपुरधामले जनाएको छ ।


Author

थप समाचार
x