मधेश

वीरगञ्ज महानगरले तीन उद्योगको मुख्यद्वारमा थुपार्‍यो फोहोर

इकागज |
साउन १४, २०८१ सोमबार ९:८ बजे

वीरगञ्ज (पर्सा)- वीरगञ्ज महानगरपालिकाले सिर्सिया नदी प्रदूषित गर्ने तीन उद्योगलाई कारबाहीस्वरुप ती उद्योगको मुख्यद्वारमा फोहोरमैला थुपारिदिएको छ । नगर प्रहरीसहित सरसफाइको टोलीले ट्रयाक्टरमा फोहोरमैला राखेर परवानीपुरस्थित अर्निका प्रोसेसिङ उद्योग, श्रीसिद्धि टेक्सटाइल्स र मोरियम लेदर इण्डस्ट्रिज प्रालीको मुख्यद्वार प्राङ्गणमा फोहोर थुपारिदिएको हो ।

वीरगञ्ज महानगरका नगरप्रहरी प्रमुख हरि भुसालले ती उद्योगको परिसरमा प्रतिकात्मक कारबाहीस्वरुप आइतबार फोहोरमैला खसाली दिएको बताए । 


'उद्योगबाट निस्कने फोहोरमैला सिर्सिया नदीमा नमिसाउन बारम्बार अनुरोध गरेका थियौँ । तर उहाँहरूले मान्नुभएन, त्यसैले निर्देशनानुसार फोहोरमैला थुपारिदिएको हो', उनले भने ।

महानगरले यसअघि सिर्सिया नदीमा फोहोरमैला  नफ्याँक्न बारम्बार अनुरोध गर्दै आइरहे पनि उद्योगी व्यवसायीले आलटाल गर्दै आएका थिए ।  महानगरले गत वैशाख ९ गते नदीमा फोहोरमैला गर्ने उद्योगलाई १५ दिनभित्रै फोहोरमैला व्यवस्थित नगरे कारबाही गर्ने चेतावनीसमेत दिएको थियो । तर उद्योगले फोहोरमैला व्यवस्थित गर्न आलटाल गर्दै आएका थिए । 

नगर प्रहरी प्रमुख भुसालले आज पनि नदी फोहोरमैला गर्ने उद्योगमा फोहोर फ्याँक्ने कार्यक्रम रहेको जानकारी दिए । रासस


Author

थप समाचार
x