मधेश

पूर्व पश्चिम राजमार्गको बेलगाछि पुलमा क्षति

इकागज |
साउन १६, २०८१ बुधबार १३:४६ बजे

रौतहट- वर्षासँगै आएको पानीको भेलले पूर्व पश्चिम राजमार्ग अन्तर्गत बर्दिवासभन्दा करिब २ किलोमीटर पश्चिम स्थित बेलगाछि पुल क्षति ग्रस्त हुँदा यातायात प्रभावित भएको छ ।

पूर्व पश्चिम महेन्द्र राजमार्ग अन्तर्गत टूटेश्वर महादेव जाने बाटो छेउ बेलगाछी पुल आज बिहान ३ बजे बाढीबाट पूर्ण रूपले क्षति भएपछि आवागमन प्रभावित भएको हो । पुल क्षतिग्रस्त हुँदा पूर्व पश्चिम जाने दर्जनौं मालबाहक तथा यात्रु वाहक गाडीहरू बिहानैदेखि जाममा परेको थियो ।


प्रहरीले वैकल्पिक बाटो प्रयोग गरेर रोकिएको गाडिहरू पास गराएको छ । सशस्त्र प्रहरी मधेश प्रदेश कार्यालय बर्दिवासका प्रवक्ता एसएसपी सुरजसेन ओलीले पुल बिहान ३ बजेतिर पानीको भेलले क्षतिग्रस्त हुँदा केही घण्टा यातायातमा कठिनाई भएको बताएका छन् ।

अहिले प्रहरीले पूर्व पश्चिमबाट आउने गाडीहरूलाई लालबन्दीबाट रूट बदलेर हुलाकी राजमार्ग, रेलगार्ग हुँदै पठाएको एसएसपी ओलीले बताए । क्षतिग्रस्त पुल मर्मतको काम द्रूतगतिमा चलिरहेकाले केही समय पछि सञ्चालन हुने उनले जानकारी दिएका छन् ।


Author

थप समाचार
x