मधेश

मजदुरले तालाबन्दी गरेपछि सुखीपुर नगरपालिकाको सेवा प्रभावित

इकागज |
साउन १६, २०८१ बुधबार २२:१२ बजे

सिरहा - सिरहाको सुखीपुर नगरपालिकामा स्थानीय मजदुरहरूले ज्याला नपाएको भन्दै छ दिनदेखि तालाबन्दीसहित आन्दोलन गरेपछि सेवा प्रभावित भएको छ । 

नगरपालिकाको प्रधानमन्त्री स्वरोजगार कार्यक्रमअन्तर्गत काम गरेका मजदुरले पारिश्रमिक नपाएको भन्दै कार्यालयको प्रवेशद्वारमा तालाबन्दी गरी धर्नामा बस्दा नगरपालिकाको सम्पूर्ण कामकाज प्रभावित भएको हो ।


दैनिक ६ सय ६७ का दरले पारिश्रमिक दिने सम्झौताअनुसार तीन महिना काम गरे पनि सोअनुसार आफूहरूले पारिश्रमिक नपाएको सुखीपुर नगरपालिका–६ का मजदुर सैदी सदायले बताउँछन् । 'हामीलाई पहिला कम गर, सबै पैसा एकैपटक खातामा जान्छ भनियो तर पछि खातामा रकम गइसकेको सूचना पाएपछि बैंकमा गएर हेर्दा तोकिएको एक चौथाइ रकम पनि आएको छैन”, उनले भने । ​

सदाय जस्तै सुखीपुर–६ की रेखादेवी राम, वडा नम्बर १० की गनिता मोची र अरहुलिया देवी रामसहित १५ जना श्रमिकले तोकिएको पारिश्रमिक नपाएको गुनासो गरेका छन् । तीन महिना काम गर्दा पनि नगरपालिकाले सम्झौताअनुसार रकम नदिएको मजदुरले बताएका छन् । 

नगरपालिकामा गुनासो गर्दा पनि कसैले नसुनेपछि कार्यालयमा ताला लगाउन बाध्य भएको पीडित गनिता मोचीले बताइन् । उनले आफूहरू श्रम शोषणमा परेको भन्दै सरोकावाला सबैलाई सहयोगका लागि आग्रह गरे । ​

त्यसैगरि पीडितहरूले वडा नं ६ र १० को वडा कार्यालयमा पनि ताला बन्दी गरेका छन् । लामो समयदेखि नगरपालिका र वडा कार्यालयमा तालाबन्दी हुँदा सेवा प्रभावित हुँदै गएको छ । 

प्रधानमन्त्री स्वरोजगार कार्यक्रमको लागि मजदुरको माग गरिएपछि पठाइएको वडा नम्वर ६ का अध्यक्ष रामेश्वर साहले बताए । 'मजदुरलाई पहिला दैनिक ज्यालादारी दिने भनी सहमति गरियो तर अहिले आएर नाप–जाँचको आधारमा रकम दिने भन्दै कर्मचारीहरू पन्छिने गरेका छन्”, उनले भने, 'मजदुरले तत्काल तोकिएको सुविधा पाउनुपर्छ । त्यसैगरी कार्यालय सञ्चालनका लागि नेतृत्वले पहल छिटो गर्नुपर्‍यो ।'

नगरपालिकाका सूचना अधिकारी प्रमोदकुमार यादवले मजदुरको पारिश्रमिक विवादका कारण तालाबन्दी गरेकाले सेवा प्रभावित भएको बताए ।  वडा नं १० का अध्यक्ष देवनारायण यादवले आन्दोलनरत मजदुरसँग नगरप्रमुख रामऔतार यादवको सक्रियतामा छलफल भइरहेको चाँडै विवाद समाधान हुने बताए ।  नगरप्रमुख यादवले पनि मजदुरसँग सहमतिको प्रयास भइरहेको जानकारी दिए । 


Author

थप समाचार
x