मधेश

नदीले डुबाएका कच्ची घर भत्किन थाले

इकागज |
असोज १४, २०८१ सोमबार ६:४२ बजे

बरहथवा (सर्लाही)- सर्लाहीको विभिन्न स्थानीय तहमा बाढी पसेको क्षेत्रका कच्ची घरहरू भत्किन थालेका छन् । शनिबार बाढीपछि डुबानमा परेको बरहथवा नगरपालिका–१५, हरपुर्वाका उमेश यादवको कच्ची घर भत्कियो । खपडाको छाना भएको यादवको कच्ची घर लडेको प्रहरीले जनाएको छ । चार फिटसम्म पानी जमेपछि माटो गलेर घर भत्किएको स्थानीयको भनाइ छ ।

डुबानमा परेर घर भत्किएपछि बिचल्ली भएको यादवले गुनासो गरे । लगातारको वर्षापछि बागमती, लखन्देही र झिम नदीको बाँध फुटेर गाउँमा पानी पसेको थियो । पानी पसेपछि गाउँका कच्ची घरहरू भत्किन थालेका हुन् । घर भत्किएपछि कतिपयले आफन्तका घरमा शरण लिएपनि अधिकांशले पानी जमेकै घरमा रात बिताएको रामनगर गाउँपालिकाका स्थानीयवासी जितेश यादवले जानकारी दिए ।


बागमती नदीको ड्याम फुटेर गाउँ पसेको पानीले १० भन्दा बढी कच्ची घरमा क्षति पुगेको रामनगर गाउँपालिकाका अध्यक्ष राजाबाबु यादवले जानकारी दिए । जिल्लाको रामनगर गाउँपालिका, बलरा नगरपालिका, बसवरिया, धन्कौल र ब्रह्मपुरी गाउँपालिकामा बाढी पसेपछि माटो गलेर ठूलो सङ्ख्यामा कच्ची घरहरूमा क्षति पुगेको प्रारम्भिक विवरण प्राप्त भएको प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अधिकारीले जानकारी दिए ।

“क्षति भयो घर बगायो÷डुबायो भन्ने गुनासो आएको छ”, उनले भने, “तत्काल सम्बन्धित पालिकाहरूले व्यवस्थापन गरेका छन् । बाँकी विवरण सङ्कलनमा जुटेका छौँ । यकिन तथ्याङ्क आउन केही समय लाग्छ ।”

बागमती नदीमा आएको बाढी पसेर बरहथवा नगरपालिका–१४ र १५ को हरपुर्वा गाउँ, बसवरिया गाउँपालिकाको १ र २ नं वडा मानपुर र ढापटोल, धन्कौल गाउँपालिका–५, स्थित महिनाथपुर, रामनगर गाउँपालिकाको नदी तटीय गाउँ, बलरा नगरपालिका–१ र २ स्थित छन्कीटोल र जयहथिऔल गाउँ डुबानमा छ ।

लखन्देही नदीमा आएको बाढीले चक्रघट्ट गाउँपालिकास्थित शिवनगर सक्रौल गाउँ र झिम नदीमा आएको बाढीले त्रिभुवन नगर गाउँका केही घरहरु डुबान परेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । 


Author

थप समाचार
x