हनुमाननगर-राजविराज सडक जीर्ण
राजविराज (सप्तरी)- दसैँ, तिहार जस्ता चाडबाड नजिकिँदै गर्दा जिल्लाको मुख्य सडकहरू मर्मत हुन सकेका छैनन् । हनुमाननगर– राजविराज सडक खण्ड जीर्ण हुँदा यात्रुहरू जोखिमपूर्ण यात्रा गर्न बाध्य छन् ।
सदरमुकाम राजविराजदेखि पूर्व भारदहस्थित पूर्व–पश्चिम राजमार्गसँग जोडिने उक्त सडकमा ठूल्ठूला खाल्डो हुँदा सवारीसाधन आवतजावतमा समस्या भएको बस चालक बताउँछन् । मंसापुर भन्ने स्थानमा पाँच/छ वर्षदेखि सडकमा ठूल्ठूला खाल्डो हुँदा पनि सडक विभागले सडक मर्मत नगरेको स्थानीय शैलेन्द्र सिंहले बताए ।
सडेपार र मंसापुरको बिचमा अवस्थित सडकमा रहेको खाल्डोका कारण सामान्य वर्षा हुँदा पनि पानी जमेर पोखरी बन्ने गर्छ । सप्तरीका प्रसिद्ध दुई शक्तिपीठ रहेकाले यही सडक भएर दसैँमा हजारौँ भक्तजन यात्रा गर्ने गर्छन् ।
भारदहस्थित कङ्कालिनी मन्दिर र राजविराजदेखि ११ किलोमिटर दक्षिणमा अवस्थित छिन्नमस्ता भगवती मन्दिरमा दसैँमा भीड लाग्ने गर्दछ । तर यिनै मन्दिर पुग्ने सडकको अवस्था नाजुक हुँदा आवतजावतमा समस्या भएको सवारी चालक रमेन यादव बताउँछन् ।
उनले भने 'राजविराजदेखि हनुमाननरसम्मको १४ किलोमिटर सडक गुणस्तरहीन भएकाले पुरै भत्किएर जीर्ण छ । सडकमै पोखरी छिचोल्दै गाडी चलाउनुपर्ने बाध्यता छ । कतिखेर गाडी पल्टिन्छ टुङ्गो हुन्न ।'
खासगरी मोटरसाइकल, अटो, सिटी रिक्सालगायतका सवारीसाधन गुडाउन बढी जोखिम रहेको यात्रुहरू बताउँछन् । वर्षौँदेखि जीर्ण सडकका कारण धुलो उड्दा स्वास्थ्यमासमेत असर गरेको स्थानीयवासीको गुनासो छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया