मधेश

कटहरिया नगरपालिकामा पुनः तालाबन्दी

इकागज |
कात्तिक १२, २०८१ सोमबार १७:४४ बजे

 रौतहट - बाढी पीडितलाई राहत वितरणको नाममा भ्रष्टाचार भइरहेको भन्दै कटहरिया नगरपालिकामा पुनः तालाबन्दी गरिएको छ ।

हालै निलम्बन फुकुवा भएका मेयर अजय प्रकाश जैसवालले बाढी पीडितको राहतमा विभेद गरेको भन्दै सोमबार दोस्रो पटक कटहरिया नगरपालिकामा तालाबन्दी गरिएको छ ।


मेयर जैसवालको कार्यकक्ष र जिन्सी फाँटमा पीडितहरूले तालाबन्दी गरेका हुन् ।

तालाबन्दीको क्रममा कटहरिया नगर परिसरमा कुनै अप्रिय घटना हुन नदिन ठूलो संख्यामा नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको थियो । मेयर निकट मानिसले आफूहरूसँग सल्लाहनै नगरी ताला खोलेको कारण पुनः तालाबन्दी गरिएको वडा ५ का सदस्य बैजनाथ दाशले बताए । 

गत असोजको दोस्रो साता परेको अविरल वर्षासँगै लालबकैया नदीमा आएको बाढीले कटहरियामा सैयौं परिवार प्रभावित भएका थिए। मेयर जैसवालले आफ्ना नजिकका मानिस तथा नातेदारलाई मात्र राहत दिएको र अन्य गरीब विपन्नलाई वञ्चित गरेको कारण बाध्य भएर आन्दोलनमा उत्रनुपरेको वडा सदस्य दाशले गुनासो गरेका छन् । 

वडा ५ का सदस्य  रामेश्वर यादवले आज दोस्रो पटक तालाबन्दीको क्रममा मेयर अजय प्रकाशले फोन गरेर आफूलाई थर्काएको बताएका थिए । 

राहतको नाममा मेयर जैसवालले ठूलो रकम अनियमितता गर्ने दाउमा रहेको वडा ४ का अध्यक्ष चन्दन कुशवाहाले आरोप लगाएका छन्। नगरसभामा विपद व्यवस्थापनमा छुट्याएको ५० लाख रुपैयाँ राहतकै नाउँमा मेयर जैसवालले सकाउने दाउमा रहेको कुशवाहाले दाबी गरेका छन् ।

प्रदर्शनको क्रममा वडा अध्यक्ष कुशवाहा, नगर कार्यपालिका सदस्य जामुन ठाकुर, वडा सदस्य द्धय बैजनाथ दाश र रामेश्वर यादवले मेयर अजय प्रकाश जैसवालले राहत, डिपिआर, गाडीको तेल, करार कर्मचारीको तलबको नाउँमा करोडौं करोड अनियमितता गर्दै आएको दाबी गरेका छन् ।

 


Author

थप समाचार
x