मधेश

८  वर्ष बित्यो, पुल निर्माण अधुरै

इकागज |
मंसिर १२, २०८१ बुधबार ९:२३ बजे

कुनौली (सप्तरी)- सप्तरीको राजगढ गाउँपालिका–३ स्थित नर्घो–फकिरा जोड्ने मुतनी नदीमा पुल निर्माण सुरु भएको आठ वर्ष बितिसक्दा पनि काम अधुरै छ ।  

नदीमा पुल नहुँदा फकिरा, कुपही, रम्पुरा, इनरूवा, झुटकीलगायत गाउँका बासिन्दालाई आवतजावतमा समस्या भइरहेको छ । स्थानीय रघुविर खंगले पुल नहुँदा गाउँसम्म बिरामी र केही समस्या पर्दा हुँदा एम्बुलेन्स पनि जानसक्ने अवस्था नरहेको बताए । “कोही बिरामी प¥यो भने नहरकै बाटो हुँदै लानुपर्छ । यसमा मोटरसाइल मात्र जान्छ, चारपाङ्ग्रे गाडी जाने अवस्था छैन”, उनले भने ।


खंगका अनुसार नजिक नर्घोमा रहेका चिकित्सक तथा क्लिनिकमा जाने बाटो पनि यही हो । सुक्खायाममा जसोतसो समस्या टरे पनि वर्षायाममा भने दोब्बर दूरीको अर्को बाटोबाट यात्रा गर्नुपर्ने बाध्यता रहेको खंगले सुनाए ।

स्थानीय मो बसिरले फकिरा, कुपही, रम्पुरा, इनरुवालगायत गाउँका बासिन्दा नर्घोमा सामान्य किनमेलन तथा हाटबजार गर्न दैनिक यही बाटो प्रयोग गर्ने गरेको बताए । यस्तै जिल्ला सदरमुकाम राजविराज पुग्ने नजिकको बाटो पनि यही भएकाले हरेक काममा सास्ती हुने गरेको उनको गुनासो छ । 

पुलको निर्माण भने सुस्तगतिमा भइरहेको छ । यसले स्थानीयवासी निरास छन् । “ठेकेदार कहिलेकाहीँ आएर थोरै काम गरेर फेरि महिनौँ हराउने गर्छन् । हामीले गुनासो गरेमा आजभोलि बन्छ भन्दै टारेको पनि यत्रो वर्ष भइसक्यो । खै ! बन्छ कि बन्दैन, बने पनि केहिले हो कहिले”, मो बसिरले भने । 

विसं २०७३ जेठ २ गते रु पाँच करोड ४० लाख ९३ हजारमा रोशन कन्सट्रक्सन जनकपुरले ठेक्का लिएको थियो । सडक डिभिजन लहान र निर्माण कम्पनीबीच सुरुमा विसं २०७५ जेठ ०९ गतेसम्म काम सम्पन्न गर्ने सम्झौता भएको थियो ।

त्यसयता पाँच पटक म्याद थपिएको छ । अन्तिम पटक थप गरिएको म्याद पनि गत कात्तिक नौ गते सकिएको छ । सडक डिभिजन कार्यालय लहानका प्रमुख आशुतोष कर्णले काम छिटो सम्पन्न गर्न निर्माण कम्पनीलाई पटकपटक ताकेदा गरिरहेको बताए । 

कार्यालयका सूचना अधिकारी अश्विनीकुमार यादवले हालसम्म ८५ प्रतिशत भौतिक प्रगति भएको बताए । उनले निर्माण कम्पनीलाई हालसम्म रु चार करोड ५२ लाख भुक्तानी दिइसकेको जानकरी दिए । अब  चालु आर्थिक वर्षको असार मसान्तसम्म कार्यसम्पन्न गर्ने लक्ष्य लिएको सूचना अधिकारी यादवले बताए ।

“ठेकेदारले अबको एक डेढ महिनामै निर्माण सम्पन्न गर्ने प्रतिबद्धता जनाएको छ । ढिलोमा भएमा जसरी पनि चालु आवभित्रै कामले पूर्णता पाउने गरी हामीले पहल गर्छौँ । त्यही लक्ष्यअनुसार हामी अगाडि बढ्छौँ”, उनले भने । रासस


Author

थप समाचार
x