मधेश

४६ लाख बढीका सामान बरामद

इकागज |
मंसिर १३, २०८१ बिहीबार ८:४४ बजे

बरहथवा (सर्लाही)- सर्लाही प्रहरीले कर्मैयास्थित बागमती चेकपोष्टबाट ठूलो परिमाणमा अवैध रूपमा ल्याइएका सामानसहित ट्रक र कन्टेनर नियन्त्रणमा लिएको छ ।

बुधबार पूर्व–पश्चिम राजमार्गस्थित बागमती नगरपालिका–१२, चेकपोष्टबाट इलाका प्रहरी कार्यालय कर्मैयाबाट खटिएको प्रहरी टोलीले प्रदेश १–०१–००१ ख ४१९० नम्बरको ट्रकबाट बिलबिजकभन्दा अधिक  रु २० लाख ७५ हजार पाँच सय २७ बराबरको चिनियाँ लसुन बरामद गरेको हो । 


यसैगरी, वीरगञ्जबाट झापाको बिर्तामोडतर्फ गइरहेको ना७ख ९४६५ नम्बरको कन्टेनरबाट  अवैध रूपमा ल्याइएका  मोटरपार्टस् बरामद भएका प्रहरीले जनाएको छ । प्रज्ञापनपत्र नभएका मोटरपार्टस्, टायरलगायत सामान तथा बिलबिजकमा उल्लेख भएभन्दा बढी भाँडावर्तन र तयारी कपडा बरामद भएको हो । 

बरामद ती सामान रु ६५ लाख ८६ हजार नौ सय ६१ बराबरका भएको जिल्ला प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठले जानकारी दिए । ट्रक र कन्टेनरका गरी रु ८६ लाख ६२ हजार चार सय ८८ बराबरका अवैध सामान पथलैयास्थित राजस्व अनुसन्धान कार्यालय पठाइएको छ । 


Author

थप समाचार
x