विवाहपञ्चमीमा दीपोत्सव गर्न मुख्यमन्त्री सिंहको आग्रह
काठमाडौँ- मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले विवाहपञ्चमी महोत्सवको धार्मिकता, पौराणिकता र सांस्कृतिक वैशिष्ठ्यलाई अक्षुण्ण राख्न तथा पर्वप्रति विद्यमान गहिरो आस्था अभिव्यक्त गर्न मङ्सिर २१ गते हरेक घरमा दीपोत्सव गर्न जनकपुरधामवासीलाई आह्वान गरेका छन् ।
बिहीबार भिडियो सन्देश जारी गर्दै मुख्यमन्त्री सिंहले विवाहपञ्चमीका दिन एघार वा एक्काइसवटा दीप भए पनि जनकपुरधामका प्रत्येक घरआँगनमा जलाएर रामजानकी विवाहप्रतिको श्रद्धाभक्ति तथा अनुष्ठान परम्परालाई थप भव्य बनाउन आग्रह गरेका छन् ।
जनकपुरधाममा अयोध्याबाट आएका जन्ती विभिन्न कार्यक्रममा सरिक भइरहेको भन्दै देश तथा विदेशका विभिन्न ठाउँबाट मेला भर्न जनकपुरधाम आएका श्रद्धालुभक्तजनलाई आफ्नै घरमा भए पनि बासको व्यवस्थापनमा सघाउन मुख्यमन्त्री सिंहले जनकपुरधामवासीसँग आग्रह गरे । सन्देशमा उनले भनेका छन्, “घरपरिवारका सदस्यले उपयोग गर्नेबाहेकका अतिरिक्त कोठामा बाहिरबाट आएका श्रद्धालुलाई जनकपुरवासीलाई बासको व्यवस्था गरिदिन म अनुरोध गर्दछु ।”
मुख्यमन्त्री सिंहले बाहिरबाट आएका श्रद्धालुभक्तजनलाई होटल तथा धर्मशाला आदिमा बास व्यवस्थापन नभए प्रदेश सरकार र जनकपुरधाम उपमहानगरपालिकाले सहरका विभिन्न ठाउँमा बनाएका पालमुनि आराम गर्न सुझाए । उनले प्रदेश सरकारले जनकपुरधामका रेल्वे स्टेशन, तिरहुतिया गाछी, कलवार कुट्टी र मणिमण्डप तथा जनकपुरधाम उपमहानगरपालिकाले बाह्रबिघा मैदानमा बनाएका अस्थायी आवासमा आवश्यक भएकालाई बस्न आग्रह गरे ।
उनले हिँडडुल गर्न नसक्ने र श्वासप्रश्वासजस्ता रोगका समस्या भएकालाई मेला भर्न यस वर्ष पालो पर्खन भन्दै विवहोत्सवमा सहभागी हुन आउने श्रद्धालुभक्तजन तथा साधुसन्तलाई न्यानो लुगा, सुत्न ओढ्ने कम्बल, तन्ना, चादर आदि ल्याउन आग्रह गरे ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया