मधेश

वीरगञ्जबाट डिजेल आयात घट्यो

इकागज |
मंसिर २७, २०८१ बिहीबार ९:२२ बजे

फाइल तस्बिर

वीरगञ्ज (पर्सा)- वीरगञ्जबाट डिजेल आयातमा घटेको छ । चालु आर्थिक वर्षको प्रथम चार महिनामा  डिजेलको आयात नौ दशमलव ४१ प्रतिशतले घटेको वीरगञ्ज भन्सार कार्यालयले जनाएको छ । 

डिजेल आयात घटेसँगै राजस्व पनि १५ दशमलव १६ प्रतिशतले घटेको छ । आव २०८१/८२ को चार महिनामा रु २१ अर्ब ८४ करोड आठ लाख ७६ हजारको दुई लाख ४६ हजार सात सय १९ किलोलिटर डिजेलको आयात भएको थियो । गत आवको सोही अवधिमा भने रु ३० अर्ब १७ करोड ७६ लाख ४८ हजारको डिजेल आयात भएको थियो ।


प्रमुख भन्सार प्रशासक दीपक लामिछानेले पेट्रोलियम पदार्थ, सवारीसाधन र कच्चापदार्थको आयात घट्दा राजस्व सङ्कलनमा असर परेको बताए । मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइनबाट डिजेल आयात हुने गरेको छ भने पेट्रोल ट्याङ्करबाट नै पैठारी हुँदै आएको छ ।  

नेपाल निर्माण व्यवसायी महासङ्घका अध्यक्ष रवि सिंहले चालु आवको कात्तिक महिनासम्म निर्माण क्षेत्र ठप्प रहेकाले डिजेल आयात घटेको बताए । उनले भने, “सरकारले निर्माण क्षेत्रलाई चलायमान गराउन जरुरी छ । त्यसो नगरे पुँजीगत खर्च बढ्दैन।”

त्यसैगरी चालु आवको चार महिनामा रु १२ अर्ब ४२ करोड ६१ लाख ३७ हजारको एक लाख ४२ हजार आठ सय ६५ किलोलिटर पेट्रोल आयात भएको छ । गत आवको सोही अवधिमा रु १३ अर्ब १८ करोड ४९ लाख ९० हजारको एक लाख २९ हजार एक सय २६ किलोलिटर पेट्रोल आयात भएको थियो ।


Author

थप समाचार
x