मधेश

एकै दिन ३३ फरार प्रतिवादी पक्राउ

इकागज |
पुस १७, २०८१ बुधबार १३:४४ बजे

रौतहट- रौतहटस्थित प्रहरीले एकैदिनमा ३२ जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ भने लाखौं मुख्य बराबरको अबैध भारतीय सामान बरामद गरेको छ ।

फैसला कार्यन्वय अन्तर्गत जिल्ला अदालत रौतहटबाट दण्ड जरिवाना रोकिएर लामो समयदेखि फरार रहेका ३२ जना प्रतिवादीलाई मंगलबार एकै दिनमा प्रहरीले पक्राउ गरेको हो ।


सवारी ज्यान मुद्दाका ८ जना, चेक अनादर मुद्दामा ६ जना केही अभद्र व्यवहारका ६ जना, बोक्सीको आरोपमा दुर्व्यवहार गर्ने ४ जना, कुटपिटमा ३ जना, गाली बेइजत्तिमा ३ जना, लेनदेन बिगोमा १ जना र नापतौल कसुरका आरोपी १ जना गरी ३२ जना फरार प्रतिवादी पक्राउ गरिएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी दीपक कुमार रायले बताएका छन् ।

पक्राउ परेका सबै जनालाई फैसला कार्वान्यनको लागि जिल्ला अदालत रौतहटमा मंगलबार उपस्थित गराइएको प्रवक्ता रायले जानकारी दिएका छन् । उनीहरूबाट जरिवाना स्वरूप करिब ६५ हजार रुपैयाँ र ६ महिना कैद असुल गरिनुपर्ने देखिएको जिल्ला प्रहरी कार्यालय रौतहटको सूचनामा उल्लेख गरिएको छ ।

त्यसैगरी जिल्ला प्रहरी कार्यालय गौर तथा मातहतको युनिटका गस्ती टोलीले १ थान ई रिक्सा चालकसहित लाखौं मूल्य बराबरको विभिन्न किसिमका अवैध भारतीय सामान बरामद गरेको छ ।

भारतीय बजारबाट ४ लाख १८ हजार १४० रुपैयाँ बराबरको अवैध रुपमा ल्याउँदै गरेको चिनी, मैदा, जुत्ता चप्पल, युरिया मलसहित मधेश प्रदेश ३००१ ह नम्बरको ई रिक्सा, र चालक विधिचन सहनीलाई पक्राउ गरी आवश्यक कारवाहीको लागि जिल्ला भन्सार कार्यालय गौरमा बुझाइएको प्रहरीको सूचनामा उल्लेख गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख एसपी दिलीप घिमिरेको निर्देशनमा जिल्लामा फरार प्रतिवादी पक्राउ अभियान चलाउनुका साथै तस्करी नियन्त्रणमा कडाई गरिएको छ ।


Author

थप समाचार
x