मधेश

शीतलहरले जनजीवन प्रभावित

इकागज |
पुस २६, २०८१ शुक्रबार ९:१६ बजे

जलेश्वर- विगत पाँच दिनदेखि अविरल रुपमा चिसो स्याँठ चल्नुका साथै शीतलहरले महोत्तरीसहित तराई मधेसमा जनजीवन प्रभावित भएको छ । लगातारको चिसो वायुले तराईका जिल्लामा दैनिक रुपमा जाडो बढेको बढ्यै भएपछि जनजीवन प्रभावित भएको हो । 

निरन्तरको चिसो कठ्याग्रिँदो हावा, शीतलहर, हुस्सु र बाक्लो कुहिरोका कारण पशुचौपाया तथा बालीनाली समेत प्रभावित बनेका जलेश्वर– ७ का वीरेन्द्र शर्माले बताउनुभयो । चिसोकै कारण सदरमुकाम जलेश्वरमा नागरिकको चहलपहलमा कमी आएको छ । बाक्लो कुहिरोका कारण यातयातका कमै चल्न थालेका छन् । 


यता जिल्लाको विभिन्न बजारमा बाक्लो ऊनी कपडाको बिक्रीमा बढोत्तरी भएको छ भने चिसोकै कारण जिल्लाको हाट बजारहरुमा मानिसहरुको उपस्थिति न्यून भएको छ । चिसो बढेपछि चिया पसलमा अत्यधिक भीड हुने गरेको र बिहान ४ बजेदेखि बेलुका ८ बजेसम्म चिया पिउनेको लाइन लाग्ने गरेको जलेश्वर नगरपालिका–१ का चिया पसले उमेश साहले बताए ।

उनले आफू पसल बन्द गर्न खोज्दा पनि ग्राहकले बन्द गर्न नदिने र बिहान ३/४ बजे नै आएर पसल खोल्न तथा राति अबेरसम्म चिया पसलमै बस्न आग्रह गर्ने गरेको बताउनुभयो । चिसोकै कारण जिल्लाको स्वास्थ्य केन्द्रहरुलगायत जिल्ला अस्पतालमा विभिन्न किसिमका बिरामीको सङ्ख्यामा वृद्धि भएको चिकित्सक बताउँछन् ।

लगातार बढ्दै गएको जाडोबाट सबैभन्दा बढी बालबालिका, वृद्धवृद्धा र सुत्केरी बढी प्रभावित भएका छन् । साथै आर्थिकरुपले कमजोर व्यक्तिसमेत बढ्दै गएको जाडोको प्रत्यक्ष मारमा परेको चिकित्सक वीरेन्द्र चौधरीले बताए ।  

चिसोको कारण बालबालिका, वृद्धवृद्धा र सुत्केरी महिलामा रुखा, खोकी, ज्वरो, दम, हातगोडा सुनिने, दुख्ने लगायतका समस्या देखिएको स्वास्थ्यकर्मी साहले बताउँछन् ।  दश नगरपालिका र पाँच गाउँपालिका रहेको महोत्तरीको विभिन्न गाउँ बस्तीमा जाडोबाट बच्नका लागि ठाउँठाउँमा स्थानीयले आगो बालेर घुर तापिरहेको देखिन्छ ।

यसैबीच जाडोकै कारण ग्रामीण भेगमा वस्तुभाउलाई पनि समस्या भइरहेको तथा किसान पनि दलहन, तेलहन र तरकारी बालीमा प्रतिकूल असर परिरहेकोमा चिन्तित भएको जलेश्वर–१० का किसान शहदेव मण्डलले बताए ।

उनले मसुरो, खेसारी, आलस, रहरलगायतका दलहन र तेलहन बाली र काउली, गोलभेडा, मटरलगायतका तरकारी बाली प्रत्यक्षरुपमा चिसोबाट प्रभावित भएको बताए । 

जिल्लामा जाडो बढेर जिल्लावासीले कष्टकर जीवन बिताइरहँदा पनि स्थानिय कुनै पनि पालिका वा सरोकारवाला निकायद्वारा हालसम्म कुनै पनि पालिकामा जाडोबाट बच्न/बचाउनका लागि कुनै पनि व्यवस्था नमिलाएको अधिकांश पालिकाका स्थानीयको गुनासो रहेको छ । रासस


Author

थप समाचार
x