मूर्ति सेलाउँदा डुबेर बेपत्ता यादवको शव १४ घण्टापछि फेला
रौतहट- रौतहटको पूर्वी भेग राजदेवी नगरपालिका छेउ बागमती नदीमा सरस्वतीको मुर्ति विसर्जन गर्ने क्रममा डुबेर बेपत्ता भएको प्रधानाध्यापकको छोरा विद्यार्थीको शव १४ घण्टापछि फेला परेको छ ।
राजदेवी–६ स्थित बागमती नदीमा मूर्ति सेलाउन गएका वडा ७ मुडवलवाका विद्यार्थीहरूमध्ये वर्ष २२ का सुरज यादव मंगलबार साँझ पौने ७ बजे डुबेर बेपत्ता भएका थिए ।
बागमती नदीमा सरस्वतीको मुर्ति विसर्जन गर्न गएको र अबेरसम्म घर नफर्केको हुँदा निजको आफन्तले सोही नदीमा खोजी गर्दै प्रहरीलाई खबर गरेका थिए ।
खबर लगत्तै सशस्त्र प्रहरी बल बिओपी बेलविछवा, प्रहरी चौकी बेलविछवा र नेपाली सेनाको वीरदल गण रौतहटबाट संयुक्त टोली खटिई गएको संयुक्त टोलीले खोजि गर्दै जाँदा आज बिहान सवा १० बजे मूर्ति सेलाएको स्थानबाट १०० मिटर दक्षिण बागमती नदीमा डुबेको अवस्थामा विद्यार्थीको शव फेला पारेको सशस्त्र प्रहरी रौतहटका प्रमुख एसपी बिक्रम हुमागाईंले बताएका छन् ।
मृतकको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल गौर पठाइएको जिल्ला प्रहरी कार्यालय रौतहटको सूचनामा उल्लेख गरिएको छ । मृतक विद्यार्थी स्थानिय प्रावि मूडबलावाका प्रधानाध्यापक उमेश यादवको छोरा रहेका थिए ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया