मधेश

अनधिकृत रुपमा अस्पताल सञ्चालन गर्नेलाई कारबाही गरिने

इकागज |
फागुन १, २०८१ बिहीबार २२:२ बजे

जनकपुर - जनकपुरधाममा सञ्चालित अनधिकृत अस्पताल सञ्चालकलाई कारबाही गरिने भएको छ । 

मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंह, स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री शत्रुधनप्रसाद सिंह, स्वास्थ्य अधिकारी सम्मिलित टोलीले आज विभिन्न अस्पतालको अनुगमन गरेको छ ।


केही दिनअघि मात्र मुख्यमन्त्री सिंहले जनकपुरधामका २१ वटा निजी अस्पतालको अनुगमन गरी सेवा सञ्चालन अनुमति प्राप्त नगरेका र नवीकरण नगराएका अस्पताल बन्द गरी त्यहाँ उपचाररत बिरामीलाई अन्य अस्पतालमा स्थानान्तरण गर्न निर्देशन दिएका थिए । 

तीमध्ये केही अस्पताल सञ्चालकले आफैँले बन्द गरेका छन् भने केही अस्पतालले निर्देशन अटेर गरी सञ्चालन गरिरहेका छन् । निर्देशन अटेर गर्ने एक अस्पताल सञ्चालकलाई प्रहरीले नियन्त्रणमा लिएको प्रहरी उपरीक्षक भुवनेश्वर तिवारीले बताए । मापदण्ड पूरा गरेका अस्पतालको सेवा सञ्चालन स्वीकृति संघ, प्रदेश र स्थानीय सरकारले दिने कानुनी प्रावधान छ । 

प्रदेश स्वास्थ्य ऐनमा सेवा सञ्चालन अनुमति नलिई अस्पताल सञ्चालन गर्नुलाई दण्डनीय कसुर मानिएको छ । ऐनमा यस्ता अस्पताललाई बन्द गराइ रु एक लाख जरिवाना गर्ने व्यवस्था छ ।

कम्पनी रजिस्ट्रारको कार्यालयमा प्राइभेट लिमिटेड दर्ता गराइ सञ्चालनमा रहेका अधिकांश अस्पतालसँग अस्पताल सञ्चालन अनुमति छैन । अनुमति प्राप्त केही अस्पतालले नवीकरण गरेका छैनन् । 

अनधिकृत सञ्चालित अस्पताल सञ्चालकले सरकारको अनुगमन विरुद्ध आन्दोलित हुन दुई दिनअघि प्राइभेट अस्पताल एसोसिएसन गठन गरेका छन् ।


Author

थप समाचार
x