धमिनी खोलामा पुल निर्माणले स्थानीयलाई राहत

सिरहा- सिरहाको गोलबजार नगरपालिका–३ स्थित धमिनी खोलामा पुल (कजवे) निर्माण हुँदा वडा नं १ र ३ का स्थानीयलाई आवतजात गर्ने निकै सहज भएको छ । नगरपालिकाले श्रम–प्रधान सार्वजनिक निर्माण कार्य विकास कार्यक्रमको सहयोगमा कजवे पुल निर्माण गरेसँगै अब स्थानीयवासीले सुरक्षित रूपमा यात्रा गर्न पाउने भएका छन् ।
कजवे निर्माणमा रू १५ लाख खर्च भएको वडा नं ३ का वडाध्यक्ष धनप्रसाद लामाले जानकारी दिनुभयो । उहाँका अनुसार करिब २० दिनमा उपभोक्ता समितिमार्फत सम्पन्न भएको यस पुलको निर्माण कार्यमा स्थानीयले श्रमदान गरेका थिए । लामो समयपछि खोलामा पुल निर्माण हुँदा प्रत्यक्षरूपमा गोलामुक्सारवासीलाई लाभ पुगेको छ ।
गोलबजारबाट उत्तरतर्फ करिब पाँचसय मिटरको दूरीमा रहेको धमिनी खोलामा पुल बनेसँगै स्थानीयको बजारसँगको दूरी छोटिएको छ ।
“वर्षौंदेखिको समस्या समाधान भएको छ । वर्षाको समयमा पनि अब सुरक्षित र सहज यात्रा गर्नसक्ने भयौँ”, स्थानीय पर्वत लामाले खुसी व्यक्त गर्दै भने, “पुल बनेसँगै बजारसँगको दूरी पनि छोटिएको छ । पहिले सामान ढुवानी गर्न धेरै समस्या थियो । अब पुल बनेपछि बजारसम्म सजिलै पुग्न सकिने छ ।”
वर्षाको समयमा खोला बाढी आउँदा गाउँमै थुनिनुपर्ने, जोखिमपूर्ण यात्रा गर्नुपर्ने, साइकल तथा मोटरसाइकल दुर्घटनामा पर्नेजस्ता समस्याबाट मुक्ति मिलेको अर्का स्थानीय नरबहादुर आलेले बताउनुभयो । उहाँका अनुसार वडा नं १ र ३ का करिब एकसय २० स्थानीय घरपरिवारलाई खोला पार गरेर एक गाउँबाट अर्को गाउँ जान राहत पुगेको छ ।
विगतमा पुलको अभावले आकस्मिक स्वास्थ्य सेवा समेत प्रभावित हुने गरेको भन्दै नगरप्रमुख श्यामकुमार श्रेष्ठले धमिनी खोलामा पुल बनेसँगै गर्भवती महिला, बिरामी तथा वृद्धवृद्धालाई प्रत्यक्ष लाभ पुगेको उल्लेख गरे । उनले पुल निर्माणले स्थानीयको दैनिक जीवन मात्र नभई आर्थिक, सामाजिक, स्वास्थ्य तथा शैक्षिक क्षेत्रमा समेत सुधार ल्याउने विश्वास व्यक्त गरे ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया