सीमामा निस्फिक्री आउजाउले जोखिम
राजविराज : भारतमा संक्रमण तीव्र भइरहेका बेला सीमामा भएको खुला आउजाउले नेपालतर्फ जोखिम बढाएको छ । चाडपर्वमा कोही भारतबाट घर फर्किंदैछन् त कोही किनमेल गर्न भारत आउजाउ गर्न थालेका छन् ।
खुला सीमाका कारण आवतजावत रोकिएको छैन । सीमावर्ती भारतीय सहरमा संक्रमण बढ्दो अवस्थामा भएका बेला यस किसिमको निस्फिक्री हिँडडुल र संक्रमित क्षेत्रबाट भित्रिएकाहरू स्वास्थ्य जाँचबिना नै घरतर्फ गइरहेकाले स्थिति जोखिमपूर्ण देखिएको हो ।
कोरोना महामारीका बेला पनि सतर्कता नअपनाई आवत–जावत गरिरहेको सीमावर्ती गाउँका स्थानीय बताउँछन् । भारतसँग सीमा जोडिएका सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका स्थानीय कमल मण्डलका अनुसार प्रहरीले जति निगरानी बढाए पनि वैकल्पिक बाटो अपनाएर आउजाउ चलिरहेको छ ।
सांस्कृतिक सम्बन्धले पनि आउजाउ नरोकिएको उनले बताए । सप्तरी मात्र होइन, भारतीय सीमावर्ती क्षेत्रसँग जोडिएका प्रदेश २ का अधिकांश जिल्लामा भारतबाट नेपाल र नेपालबाट भारत जानेको संख्या बढ्दो छ । दैनिक हजारौंको संख्यामा आवतजावत हुने गरेको पाइन्छ ।
प्रदेश २ का आठवटै जिल्ला भारतको बिहारसँग जोडिएका छन् । बिहारमा अहिले संक्रमण उच्च दरमा फैलिइरहेको छ । प्रदेश २ को भारतसँग जोडिएको चार सय ६५ किलोमिटर खुला सीमामा सशस्त्र प्रहरीका ५५ वटा बीओपी छन् । एउटा बीओपी मातहत रहेका ४ देखि ५ वटा थप फरवार्ड बेसबाट निगरानी गरिरहे पनि पारिबाट भित्रिने क्रम रोकिएको छैन ।
संक्रमितको संख्या ह्वातै बढ्नुमा सीमामा व्यापक ओहोर दोहार, भौतिक दूरी कायम हुन नसक्नु, संक्रमित पहिचान तथा व्यवस्थापनमा हेलचेक्य्राइँ कारक रहेको गजेन्द्र नारायण सिंह अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. रणजीत कुमार झाको भनाइ छ ।
प्रदेश २ मा कोरोना भाइरसका संक्रमितको संख्या १५ हजार नजिकै पुगिसकेको छ । हिजो शनिबार मात्रै २ सय २७ जना नयाँ संक्रमित थपिएका छन् । यससँगै यस प्रदेशमा कोरोना संक्रमितको संख्या १४ हजार ८ सय ४७ पुगेको हो ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया