मधेश

वीरगञ्ज महानगरपालिकाले ल्यायो कर्मचारी व्यवस्थापन एवं समायोजन ऐन

इकागज |
भदौ २२, २०७८ मंगलबार ८:४३ बजे

वीरगञ्ज - कर्मचारीको व्यवस्थापन एवं समायोजन गर्ने उद्देश्यले वीरगञ्ज महानगरपालिकाले ऐन जारी गरेको छ । महानगरपालिकाको नवौं साधारणसभाले पारित गरेको ऐन महानगरले राजपत्रमा समेत प्रकाशित गरेको हो । 

नगरप्रमुख विजय सरावगीले कर्मचारीको वृत्ति विकासका लागि ऐन ल्याइएको बताए।  तह वृद्धि, ग्रेड वृद्धि र लामो समय करारमा रहेका कर्मचारीलाई प्रदेश लोक सेवा आयोगमार्फत आन्तरिक प्रतिस्पर्धाबाट स्थायी गर्ने प्रक्रियामा जाने व्यवस्था ऐनमा गरिएको उनले बताए ।
 
महानगरपालिकाका स्थानीय सेवाका कर्मचारीलाई समायोजन गर्दा कायम हुने तलब साविकमा खाइपाई आएको तलबभन्दा कम हुने भएमा ग्रेड वृद्धि गरी तलब मिलान गर्ने व्यवस्था ऐनमा छ । समायोजन तह मिलानका लागि आवश्यक प्रशासनिक कार्यसम्पादन गर्न तथा समायोजन/बढुवा सिफारिसका लागि वीरगञ्ज महानगरपालिकाको वरिष्ठतम अधिकृतको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गर्ने व्यवस्था ऐनमा गरिएको छ । समितिको सिफारिसलाई आधार मानेर प्रमुख प्रशासकीय अधिकृतले समायोजन तह मिलानको पत्र कर्मचारीलाई दिनेछन् ।


ऐनमा साविकका स्थानीय निकाय र वीरगञ्ज महानगरपालिकाको स्वीकृत दरबन्दीको अधिकृतस्तर छैठौं तह, सहायकस्तर पाँचौं र चौथो तहमा करार सेवामा नियुक्ति लिई सोही पदमा कार्यरत कर्मचारीबीच आन्तरिक प्रतिस्पर्धा गराई एक पटकको लागि स्थायी पदपूर्ति गर्न सकिने व्यवस्था समेत राखिएको छ ।

वीरगञ्ज महानगरपालिकाकामा प्रमुख प्रशासकीय अधिकृत, वरिष्ठ जनस्वास्थ्य प्रशासक, उपसचिव १/१ जना, आठौं, सातौं र छैठौं तहका अधिकृत ३७ जना, पाचौं र चौथो तहका १ सय २३ जना, अन्य तहका १ सय १६ जना कर्मचारी छन् ।
 


Author

थप समाचार
x