लोकसेवा आयोगले निकालेको विज्ञापनप्रति मधेशी निजामति कर्मचारी मञ्चको आपत्ति
जनकपुरधाम : प्रदेश २ लोक सेवा आयोगले निकालेको कर्मचारी भर्ना सम्बन्धी विज्ञापनप्रति नेपाल मधेशी निजामति कर्मचारी मञ्चले आपति जनाउँदै ध्यानाकर्षण गराएको छ । आइतबार मञ्चका महासचिव बेचनकुमार महतोले आयोगले मापदण्डविपरित हचुवाको भरमा विज्ञापन निकालेको भन्दै आयोग र मुख्यन्यायधिवक्ताको कार्यालयलाई ज्ञापन पत्र बुझाएको हो।
प्रदेशको प्रदेश निजामती सेवा ऐन नआएको अवस्थामा विद्यमान निजामती सेवा ऐन, २०४९ र नियमावली, २०५१ तथा समायोजन ऐन, २०७५ ले गरेको व्यवस्था विपरित भएको उपरोक्त विज्ञापन आफैमा त्रुटिपूर्ण र हचुवामा आधारित रहेको ज्ञापन पत्रमा भनिएको छ ।
महासचिव महतोको नेतृत्वमा गएको टोलीले विज्ञापनमा रहेको त्रुटि सच्याउन मागसहित प्रदेश लोकसेवा आयोगका अध्यक्ष सुरेन्द्र प्रसाद यादव र मुख्यन्यायधिवक्ता दिपेन्द्र झालाई ज्ञापन पत्र बुझाएका छन् ।
आयोगले आयोगको १/२०७७–०७८ बमोजिम मिति २०७७ मंसिर २५ मा प्रकाशित ईन्जिनीयरींग सेवा, ईन्जिनीयर पदको विज्ञापनप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ
‘निजामती सेवाका कुनै पनि सेवा, समुह र पदको विज्ञापन हुदाँ कानुनतः परिभाषित खुल्ला तथा बढुवा प्रक्रियासहितको विज्ञापन रहने विद्यमान ऐनमा व्यवस्था रहेको छ । तर प्रदेश सरकारले त्यस विपरित बढुवा प्रक्रियालाई नजरअन्दाज गर्दै निकालिएको विज्ञापनमा हाम्रो आपति हो,’ ज्ञापन पत्रमा भनिएको छ ।
संघीयता कार्यान्वयन पश्चात केन्द्रीय लोकसेवा आयोगले स्थानीय तहको लागि केही वर्षअगाडि मात्र गरेको विज्ञापनमा अधिकृत छैठौ तहलाई अधिकृतको ईन्ट्रीप्वाईन्ट मानी विज्ञापन गरेकोमा यस प्रदेशको लोकसेवा आयोगले सातौँ तहलाई अधिकृत ईन्ट्रीप्वाईन्ट रुपमा विज्ञापन गर्नुको आधार के हो ? भनि प्रतिप्रश्न समेत मञ्चले ज्ञापन पत्रमार्फत गरेको छ।
महासचिव महतोले प्रदेश सरकारले हालै गरेको उपरोक्त अनुसारको विज्ञापनमा बढुवा समेतको पद खुलाइ कार्यतालिका बनाई सच्याई पुनः विज्ञापन गर्न मागसमेत गरिएको उनले बताए ।
ज्ञापन पत्र बुझ्दै आयोगका अध्यक्ष यादव र मुख्यन्यायधिवक्ता झाले हतारमा विज्ञापन गरिएको कारण हुन गएको त्रुटि सच्याउने प्रतिबद्धता जनाएको महासचिव महतोले बताए ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया