मधेश

लोसपा प्रदेश २ दलको नेतामा सोनल

इकागज |
असोज १२, २०७८ मंगलबार ९:१९ बजे

जनकपुरधाम - लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) प्रदेश २ को संसदीय दलको नेतामा जितेन्द्र सोनल निर्वाचित भएका छन् । सोमबार राति लोसपा संसदीय दलको बैठकमा सर्वसम्मतको प्रयास हुन नसकेपछि शीर्ष नेतृत्वको उपस्थितिमा अबेर राति भएको मतदान प्रक्रियाबाट सोनल दलको नेतामा निर्वाचित भएका हुन् ।

पार्टीको १६ जना प्रदेश सभा सदस्य रहेकोमा सोनलले ९ मत ल्याई निर्वाचित भए भने प्रतिद्वन्दी उपेन्द्र महतोले ६ मत  ल्याएका थिए ।  एक मत बदर भएको थियो । 


प्रदेश सभा सदस्य सुरिता साह र बाबुलाल साहले उम्मेदवारी घाघोणा गरे पनि निर्वाचन प्रक्रियामा भाग लिएनन् । तत्कालीन राष्ट्रिय जनता पार्टी नेपाल प्रदेश २ सरकारमा सहभागी भएको बेलासम्म संसदीय दलको नेता सोनल नै थिए ।

सरकारले राजनीतिक दल सम्बन्धी ऐन संशोधन गर्न अध्यादेश ल्याएपछि जसपाबाट छुट्टिएर महन्थ ठाकुरको नेतृत्वमा लोसपा नेपाल गठन गरिएकोले पुनः दलको नेता चयन प्रक्रिया अपनाउनु परेको हो ।

सो अध्यादेश राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्को निर्णय एवं प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा संविधानको धारा ११४ को उपधारा २ को खण्ड (ख) बमोजिम सोमबार खारेज समेत गरिसकेकी छन् ।


Author

थप समाचार
x