जयनगर-जनकपुर रेल सेवा चाँडै नै सञ्चालनमा आउँछ : मन्त्री यादव
जनकपुरधाम- भौतिक पुर्वाधार तथा यातायात मन्त्री रेणु यादव अध्यादेश ल्याएर जयनगर जनकपुरधाम (कुर्था) रेल सञ्चालनमा ल्याउने प्रतिबद्धता जनाएकी छिन । शुक्रबार जनकपुरधाम उद्योग वाणिज्य संघले रेलमा सञ्चालनमा ल्याउन माग गर्दै बुझाएको ज्ञापनपत्र बुझ्दै मन्त्री यादवले कानूनी अड्चनका कारण रेल सञ्चालनमा थियो । तर अब विधेयक पनि राष्ट्रिय सभाबाट फिर्ता भइसकेको कारण चाँडै नै अध्यादेशमार्फत रेल सञ्चालनमा ल्याउने गरी तयारी भइरहेको बताइन ।
उनीहरूको मागबारे मन्त्री यादवले भनिन् 'विवाह पञ्चमीदेखि नै सञ्चालन हुन्छ भन्ने ग्यारेन्टी नभए पनि चाँडै नै सञ्चालनमा ल्याउने छौँ । रेल मात्र नभई अन्य यातायात तथा पुर्वाधारसहितका विकास निर्माणका कार्य तिव्र गतिमा अघि बढाउनेछु ।'
उनले भनिन् 'आज दुई बजे बस्ने मन्त्रिपरिषद्को बैठकमा रेल सञ्चालनको कुरा पनि उठाउनेछु । बैठकबाट आएका निर्णय अनुसार आगामी कात्तिक ९ गते बस्ने संसद्को बैठकबाट अध्यादेश ल्याउने सम्बन्धमा छलफल गरेर प्रक्रिया अघि बढाउनेछु ।'
विकासको काममा कुनै कसर नछोडने प्रतिबद्धता जनाउँदै मन्त्री यादवले गठबन्धनको यो सरकारको १४ महिनाको अवधिमा रोकिएका र अवरुद्ध रहेका सम्पूर्ण यातायात तथा पुर्वाधार सम्बन्धी कार्य पुरा गर्ने बताइन् ।
पत्रकारहरूको जिज्ञासामा मन्त्री यादवले भनिन् 'गठबन्धनको सरकारको कति दिनसम्म टिक्नेछ त्यसको कुनै भरोसा नरहेको कारण आफू सकेजति जयनगर जनकपुर रेल मात्र नभई अन्य रेलवे निर्माण कार्यसमेत तिव्र गतिमा बढाउनेछु ।'
सो ज्ञापन पत्र बुझाउने कार्यक्रममा सहभागी संघका पुर्वअध्यक्ष निर्मल चौधरीले भने 'जयनगर जनकपुर रेल सञ्चालनमा आएपछि यहाँका उद्योग व्यवसाय फस्टाउनुका साथै पर्यटकीय क्षेत्रमा समेत राम्रो विकास हुनेछ । सो रेल सेवाले यहाँका उद्योगी व्यवसायीलाई मात्र फाइदा नभई आम जनताले समेत सस्तो दरमा सामान पाउनेछ ।'
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया