मधेश

कोभिड–१९को व्यथा :

प्रदेश भन्छ- जोखिम भत्ता दिन्छौँ, तलबै पाउँदैनन् स्वास्थ्यकर्मी

सुभाष कर्ण |
पुस ४, २०७७ शनिबार १६:३२ बजे

जनकपुरधाम : जोखिम मोलेर कोभिड–१९विरुद्धको अभियानमा खटिरहेका चिकित्सक तथा स्वास्थ्यकर्मीहरूले तलब भत्ता नपाएपछि आन्दोलनमा उत्रिने तयारी गरेका छन्  । आर्थिक वर्ष सुरु भएदेखि अहिलेसम्मको तलब भत्ता नपाएपछि प्रदेश–२ का स्वास्थ्यकर्मीहरूले आन्दोलनको तयारी थालेका हुन्  ।

कोभिड अस्पताल तथा आइसोलेशनमा खटेका चिकित्सकले विगत ५ महिनादेखि तलब भत्ता नपाएको गुनासो गरिरहेका छन्  । धनुषा, महोत्तरी र सप्तरी लगायतका जिल्लामा रहेका आइसोलेशन तथा कोभिड अस्पतालमा काम गरिरहेका चिकित्सक भन्छन्— ज्यानको प्रवाह नगरी जोखिम मोलेर दिनरात खटियौँ तर प्रदेश सरकारले तलब भत्ता नदिँदा निकै समस्या भएको छ  । 


प्रदेश सरकारले कोभिडविरुद्ध खटिने चिकित्सक तथा स्वास्थ्यकर्मीलाई तलब बराबर र ड्युटी अनुसार भत्ता तोकेको थियो । तर, सम्झौता अनुसार कुनैपनि चिकित्सक र स्वास्थ्यकर्मीले तलब भत्ता पाएका छैनन् । संघीय सरकारले संक्रमितको प्रत्यक्ष सम्पर्कमा आएकालाई मात्र भत्ता दिइने भनेपछि अस्पताल व्यवस्थापकलाई समस्या भएको छ । 

महोत्तरी जिल्ला अस्पतालस्थित कोभिड अस्पतालमा खटेका स्वास्थ्यकर्मीले साउन महिनादेखि तलब र भत्ताको रकम पाएका छैनन् । त्यस्तै धनुषा र सप्तरीमा साउनदेखि हालसम्मको भत्ता दिइएको छैन । 

महोत्तरी कोभिड अस्पतालमा कार्यरत डा.दिपेन्द्र साहले आफूलाई तलब बराबरको भत्ता दिइने भनिएको बताए । तर, ती सम्झौता अनुसारको रकम नपाइएको उनको गुनासो छ । 

उनले भने,‘अस्पतालका मेसुलाई गुहार गर्दागर्दा थाकिसेकपछि कोभिड अस्पतालमा खटेका हामी चिकित्सक स्वास्थ्यकर्मीदेखि स्वीपरसम्मका टोली प्रदेश सरकारको सम्बन्धित मन्त्रालयमा डेलिगेशन नै लिएर गयौँ तर आश्वासन बाहेक केही पाएनौँ ।’ 

धनुषा, महोत्तरी र सप्तरी मात्र होइन, प्रदेश–२ का सिरहा, सर्लाही, बारा, रौतहट र पर्सा समेतका जिल्लाहरुमा पनि कोभिडमा खटिएका स्वास्थ्यकर्मीले जोखिम भत्ता पाउन नसकेका छैनन्  । 

 


Author

थप समाचार
x