प्रदेशसभा बन्धक बनाई प्रदेश २ सरकारले ल्यायो विश्वविद्यालयसम्बन्धी दुई अध्यादेश
जनकपुरधाम- प्रदेशसभालाई बन्धक बनाई प्रदेश २ सरकारले विश्वविद्यालय सम्बन्धी दुई वटा अध्यादेश ल्याएको छ । मंगलबार बसेको मन्त्रिपरिषद्काे बैठकले वीरगञ्जमा प्राविधिक विश्वविद्यालय र सप्तरीमा कृषि विश्वविद्यालय स्थापना सम्बन्धी अध्यादेश जारी गर्न प्रदेश प्रमुखलाई सिफारिस गर्ने निर्णय गरेको छ ।
प्रदेश प्रमुखबाट अध्यादेश जारी लगत्तै दुवै विश्वविद्यालय स्थापनाको कार्य शुरु हुने प्रदेश सरकारका प्रवक्ता एवं अर्थमन्त्री शैलेन्द्र प्रसाद साहले जानकारी दिएका छन् ।
प्रदेशसभा संचालन नरहेकोको अवस्थामा नेपालको संविधानको धारा २०२ बमोजिम अध्यादेश ल्याएर विश्वविद्यालय स्थापनासम्बन्धी कार्य अघि बढाइएको मन्त्री साहले जानकारी दिए । प्रदेश सरकारले आफूसँग दुई तिहाई बहुमत हुँदाहुँदै प्रदेशसभा संचालन नगरी अध्यादेशमार्फत काम अघि बढाएको हाे ।
कृषि तथा प्राविधिक सम्बन्धी उच्चस्तरीय जनशक्ति उत्पादन तथा कृषि र प्राविधिक सम्बन्धी अध्ययन अनुसन्धानलाई समय सापेक्ष, व्यापक, व्यवहारिक र स्तरीय बनाउन प्रदेशस्तरीय कृषि तथा प्राविधिक विश्वविद्यालय स्थापना आवश्यक देखिएको प्रदेश सरकारले जनाएको छ ।
त्यस्तै आजको बैठकले 'ग्रिन सिटी क्लिन सिटी' अन्तर्गत पहिलो चरणमा जनकपुरधाम, राजविराज र वीरगञ्जमा सरसफाई, बिजुली बत्ति तथा वृक्षारोपण कार्यसंचालन गर्ने निर्णय समेत गरिएको प्रवक्ता साहले बताए ।
बिजनेश नपाएर महिनौदेखि बन्द रहेको प्रदेशसभाको बैठक पछिल्लो पटक मुख्यमन्त्री लालबाबु राउतले विश्वासको मत लिन असोज २० गते संचालन भएको थियो । त्यसपछि बिजनेश नपाएको भन्दै प्रदेश सरकारले अनिश्चितकालका लागि बैठक आव्हान गरेको छैन ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया