४ वर्षमा ९ प्रमुख प्रशासकीय अधिकृत फेरिए
जनकपुरधाम - जनकपुरधाम उपमहानगरपालिकामा विगत चार वर्षमा ९ वटा प्रमुख प्रशासकीय अधिकृत फेरिएका छन् । सधैँ विवादमा तानिँदै आएको जनगपुर उपमहानगरमा एक जनाबाहेक सबै प्रशासकीय अधिकृत ६ महिना बढी टिक्न सकेनन् । नगर प्रमुख लालकिशोर साहले कानुनविपरित काम गर्न दबाब दिने भएकोले प्रमुख प्रशासकीय प्रमुख अधिकृत टिक्न नसकेको वडाध्यक्षहरू बताउँछन् ।
वडा नम्बर ७ का अध्यक्ष जानकीराम साहले नगर प्रमुखको अनावश्यक दबाव सहन नसकेर प्रमुख प्रशासकीय अधिकृत ६ महिनापछि टिक्न नसकेको बताए । पछिल्लो पटक बिदा भएर गएका प्रशासकीृत अधिकृत विनोद खतिवडा पनि मेयरको दबाव सहन नसकेर सरुवाका लागि काठमाडौ पुगेका छन् । खतिवडालाई पनि चालू आर्थिक वर्षमा करारमा कर्मचारी भर्ना, ४ करोड रुपैयाँ सहयोगका नाममा व्यक्तिलाई वितरण गर्न र योजनाहरू करारका कर्मचारीबाट चलाउन अधिकार दिन दबाव दिएपछि सरुवा गराउनका काठमाडौ पुगेको उनले बताए ।
जनकपुरधाम उपमहानगरपालिकामा सबैभन्दा बढी समय बस्ने प्रमुख प्रशाकीय अधिकृत खतिवडा नै हुन । उनी गत वर्ष भदौ ३० गते हाजिर भई एक वर्षसम्म काम गर्न भ्याएका छन् । उनी बाहेकका कुनैपनि अधिकृत ६ महिनाभन्दा बढी बस्न सकेनन् ।
खतिवडाबाहेक त्यसअघि ८ वटै प्रमुख प्रशासकीय अधिकृतसँग राम्रो सम्बन्ध रहेन । उनीहरू पनि नगरप्रमुखकै दबाबका कारण यहाँबाट सरुवा गराएर गएको वडा नम्बर ४ का अध्यक्ष सुदर्शन सिंहले बताए । चार वर्षे कार्यकालमा अधिकांश समय निमित्त अधिकृतले नै उपमहानगरपालिका चलाउने गरेको बेथिति रहेको उनले बताए।
प्रत्येक वर्ष प्रमुख प्रशासकीय अधिकृत नहुँदा योजनाहरू नै अलपत्र पर्ने गरेको उपप्रमुख रीता मिश्रले बताइन् । यहाँ कुनै पनि प्रमुख प्रशासकीय अधिकृत ६ महिना बढी किन बस्न सक्दैनन् भन्ने जिज्ञासामा उनले भनिन्, 'त्यो कुरा त अधिकृतज्यूहरूलाई नै थाहा होला । तर केही अधिकृतज्यूहरू यहाँबाट जाँदा नगरप्रमुखबाट दुखी देखिएका थिए । के कति कारणले दुखी भएर गएको हो त्यो उहाँलाई थाहा होला । मलाई जानकारी छैन ।'
उपप्रमुख मिश्रले पछिल्लो पटकको अधिकृत खतिवडा लामो समयसम्म बसे पनि डा. सिके राउतका कार्यकर्ताले खानेपानी प्रमुखलाई दुर्व्यवहार गरेपछि डराएर सरुवा हुन खोजेका हुन् । अधिकृत खतिवडाले अनावश्यक दबाब र नियमित सरुवा समय भइसकेको कारण आफूले सरुवा गराउन लागेको दाबी गरे। नगरप्रमुखको नाम प्रष्ट रूपले नभने पनि उनले विभिन्न पक्षबाट अनावश्यक दबाव सहेर काम गर्ने अवस्था नभएको र मेरो नियमित सरुवाको समय पनि भइसकेकोले सरुवा गराउन लागेको उनले बताए ।
उपमहानगर गठन हुँदा अर्जुन सुवेदी यहाँका पहिलो प्रमुख प्रशासकीय भएर आएका थिए । त्यसपछि मदन घिमिरे, उमेश ढुंगाना, प्रदीप साह, सीता परियार, धर्मानन्द जोशी, गोपालप्रसाद रेग्मी आएर गइसके । तर तिनीहरूमध्ये कुनै पनि अधिकृत ६ महिनाभन्दा बढी टिकेनन् ।
उपमहानगरमा पटक पटक प्रमुख प्रशासकीय अधिकृत फेरिनु अस्वाभाविक भएको टिप्पणी हुन थालेको छ । अहिले जनकपुर उपमहानगरमा निमित प्रमुख प्रशासकीय अधिकृत मेहीलाल यादवको भरमा कार्य संचालन हुँदै आएको छ । नगरप्रमुखका विश्वास पात्र यादव नै पटक-पटक निमित अधिकृतको रूपमा काम गर्दै आएका छन्। उनी चौथो पटक निमित्तको कार्यभार सम्हालिरहेका छन् ।
जनकपुरधाम उपमहानगरमा गोपालप्रसाद रेग्मी चार महिना, धर्मनाथ जोशी करिब तीन महिना, सीता परियार ६ महिना, मात्र प्रमुख प्रशासकीय अधिकृतको रूपमा काम गरेका छन् । यिनीहरू नगरप्रमुख साहसँगको विवादपछि सरुवा गराएर गए ।
नगरप्रमुखको दुर्व्यवहार र दबाब सहन नसकेर आफू यहाँबाट सरुवा गराउन बाध्य भएका जोशी बताउँछन् । उनले सामान्य प्रशासन मन्त्रालयलाई आग्रह नै गरेर आफू जनकपुरधाम उपमहानगरपालिकामा आएको बताए । तर हाजिर भएको १०–१५ दिनपछि नै नगरप्रमुखले अनावश्यक दबाब दिन थालेको उनको भनाइ छ ।
‘सामान्य दर्ता चलानीको काम गर्दा पनि अभद्र शब्द प्रयोगगरी विना स्वीकृति दर्ता चलानीसमेत नगर्नु भन्दै चेतावनी दिनुहुन्थ्यो,’ जोशीले भने । नगरप्रमुख साहले प्रमुख प्रशासकीय अधिकृतको गाडी आफ्नो निजी कामका लागि प्रयोग गर्न लैजाने गरेको अवरोध गरेपछि उनका कार्यकर्ताहरूले कुटपिट गर्नेलगायतका धम्की दिने गरेको कारण बाध्य भइसरुवा गराएर गएको बताए ।
करिब ६ महिना अधिकृतको पद सम्हालेकी परियारले नगरप्रमुख साहको अनावश्यक दवाबकै कारण बाध्य भएर उनी पनि सरुवा गराएर गएको बताएकी थिइन् । ’हरेक प्रशासनिक काममा नगरप्रमुखले हस्तक्षेप गर्ने गरेको कारण बस्न सक्ने माहौल नरहेको भन्दै बिदामा जान्छु भनेर सरुवा गराएर गएकी थिइन्।
नगरप्रमुख साह र प्रशासकीय अधिकृतबीचको विवादकै कारण आ–आफ्नो वडामा आएको लाखौँ रकम खर्च हुन नसकेर फ्रिज हुने गरेको आरोप वडाध्यक्षहरूको छ । उनीहरुले यही जनकपुरधाम उपमहानगरपालिकामा विकासमा असफल हुनुको प्रमुख कारण नै प्रमख प्रशाकीय अधिकृत र नगरप्रमुखको विवाद रहेको बताउँछन ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया