नेकपा (एस) लाई पनि प्रदेश २ सरकारमा सहभागी गराइँदै
जनकपुरधाम - प्रदेश २ सरकारका एक मन्त्रीले पुन: राजीनामा दिने भएका छन् । उद्योग, पर्यटन वन तथा वातारण मन्त्री वा सामाजिक विकास मन्त्री मध्ये एक जनालाई राजीनामा दिलाएर नेकपा (एस) लाई केन्द्रीय गठबन्धनअनुसार सरकारमा सहभागी गराउन लागिएको हो ।
नेकपा एसलाई दुईवटा मन्त्रालय दिने सहमति भएपनि मन्त्रालयको टुंगो लाग्न नसक्दा एक महिनादेखि कुरा लम्बिदै गएको छ । मुख्यमन्त्री कार्यालय स्रोतकाअनुसार उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालय र प्रदेश मामिला तथा न्याय कानुन मन्त्रालय दिइने सहमति भएको छ । उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री रामनरेश रायलाई मुख्यमन्त्री लालबाबु राउतले निर्देशन समेत दिइसकेको स्रोतले बतायो ।
नेकपा एस दलका नेता शत्रुध्न महतोले सरकार सहभागी हुने टंगो लागिसकेको स्वीकार गरे । तर, मन्त्रालयबारे भने सोमबार(आज) बेलेकीसम्म टुंगो लाग्ने उनले बताए । 'सहमतिअनुसार हामीले सामाजिक विकास र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयमध्ये एउटा र टुक्राइएका वाणिज्य तथा आपूर्ति र प्रदेश मामिला तथा न्याय कानुन मन्त्रालय मध्ये एउटा गरी दुईवटा माग गरेका थियौँ, त्यसमै कुरो अड्किएको छ,' उनले भने, 'तर आजसम्म केन्द्रीय स्तरमै बैठक गरी टुंगो लगाइनेछ ।'
मुख्यमन्त्री राउतले यसअघि आफूहरूलाई टुक्राइएका वाणिज्य तथा आपूर्ति र प्रदेश मामिला तथा न्याय कानुन मन्त्रालय लिन प्रस्ताव राख्दै आएको उनले बताए। तर आफूहरूले कामै गर्न नसक्ने खालका मन्त्रालय नलिने अडान लिएको कारण कुरा लम्बिदै गएको उनको भनाइ छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया