प्रदेश २ सरकारमा नेकपा (एस) पनि सहभागी
जनकपुरधाम - प्रदेश २ सरकारमा माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टी पनि सहभागी भएको छ । आइतबार आज नेकपा एसका तर्फबाट संसदीय दलका नेता शत्रुधन महतो र प्रमोद यादव मन्त्रीको शपथ लिएका हुन् ।
महतोले उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय र यादवले कानून न्याय तथा प्रदेश मामिला मन्त्रालयको जिम्मेवारी पाएका छन् । मधेस भवनमा आयोजित शपथग्रहण समारोहमा नवनियुक्त दुवै मन्त्रीलाई प्रदेश प्रमुख हरिशंकर मिश्रले शपथ ग्रहण गराएका छन् ।
नेकपा (एस) लाई सरकारमा सहभागी गराउन मुख्यन्त्री लालबाबु राउतले जसपाकै उद्योग पर्यटन तथा वनमन्त्री राम नरेश रायलाई बर्खास्त गरेका थिए । नेकपा एमालेबाट विभाजन भएर बनेको नेकपा एसको प्रदेशसभामा १३ सांसद छन् । यसअघि नै नेकपा एसलाई सरकारमा ल्याउने प्रयास भएको थियो ।
तर मन्त्रालयको भागबण्डामा कुरा नमिल्दा नेकपा एस सरकारमा गएको थिएन । सहमति जुटाउन नेकपा एसका अध्यक्ष माधव नेपालसँग भेट्न मुख्यमन्त्री लालबाबु राउत काठमाडौं नै पुगेका थिए ।
यसअघि नेपाली कांग्रेस र माओवादी केन्द्रलाई सरकारमा सहभागी गराउन ज्ञानेन्द्र यादवले मन्त्री पदबाट राजीनामा दिएका थिए । अब प्रदेशमा चार दलीय गठबन्धनको सरकार बनेको छ । जसापको नेतृत्वमा कांग्रेस तीन र माओवादी केन्द्र एक मन्त्रालयसहित सरकारमा छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया