मौरीपालनले बदलिएको जीवन
वीरगन्ज : सर्लाहीको विकट गाउँ विष्णुपुरकी ६१ वर्षीया मिना महत मौरीपालन गरेर गाउँमै नमूना बनेकी छन् । उनको जोश र जाँगरले गाउँका अन्य महिलाहरू समेत लाभान्वित भएका छन् । मौरीपालन गरिहेकी मिनाले गाउँमा थुप्रै महिलालाई मौरीपालन व्यवसायमा संलग्न गराउन सफल भएकी छन् ।
मिनाले कुनै व्यवसायिक तालिमविनै मौरीपालन सुरु गरेकी थिइन् । उनी भन्छिन्, ‘मौरीपालन नै गर्छु भनेर सोचेकी थिइनँ, पछि आकर्षित भएँ । अहिले धेरै राम्रो भएको छ ।’ आफूले भोगेका चुनौती, संघर्ष र खुसीको क्षण सम्झदै भन्छिन्, पालन सुरु गरेपछि मह कसरी काड्ने, टोकाइबाट कसरी बच्ने आदि टेलिभिज हेरेर सिकेँ ।’
पछि उनले गाउँमै तालिम लिने अवसर पाइन् । विभिन्न संघसंस्थाबाट गाउँमै तालिम लिइन् । हाल उनले ११ घार मौरीपालन गरेकी छन् । यसबाहेक गाउँका महिलाले एकल र सामूहिक मौरी पालन गरेका छन् ।
‘एक घारबाट कम्तिमा पनि २० हजार रुपैयाँ आम्दानी हुन्छ,’ उनले सुनाइन् । उत्पादनभन्दा माग धेरै भएकोले बजारको समस्या नभएको उनको भनाइ छ । सहज र कम लगानीमा सुरु गरेर राम्रो आम्दानी गर्न सकिने यो व्यवसाय सबै महिलाले सुरु गर्न सक्ने उनको धारणा छ ।
‘पाको उमेरका महिलाले केही गर्न सक्दैनन भन्ने मानसिकतालाई चुनौति दिँदै गाउँका महिलालाई घरधन्दा मात्रै होइन, घरभन्दा बाहिर पनि काम गर्न सक्षम छन् भन्ने देखाउन प्रयास गरेँ । केही हदसम्म सफल पनि भएकी छु,’ उनले भनिन् ।
हप्तामा दुई दिनमात्रै समय दिए पुग्ने मौरीपालन अन्य खेतीभन्दा सजिलै गर्न सकिने भएकोले महिलाहरू यसमा रमाएको उनले बताइन् । यसले महिलाहरूलाई आत्मनिर्भर हुनसमेत सघाएको उनको भनाइ छ ।
‘पाको उमेरका महिलाले केही गर्न सक्दैनन भन्ने मानसिकतालाई चुनौति दिँदै गाउँका महिलालाई घरधन्दा मात्रै होइन, घरभन्दा बाहिर पनि काम गर्न सक्षम छन् भन्ने देखाउन प्रयास गरेँ । केही हदसम्म सफल पनि भएकी छु,’ उनले भनिन् ।
पहिले श्रीमान र अरुका अगाडि बोल्नै नसक्ने महिलाहरू मौरीपालनमा लागेपछि गाउँका अरुलाई पैसा चलाउनसमेत दिन थालका छन् । यसलाई उनी आफ्नो उपलब्धि मान्छिन् ।
‘अब सिक्न इच्छुक महिलाहरूलाई निःशुल्क तालिम दिने उनकाे साेच छ । भन्छिन्, आत्मनिर्भर बन्न यो व्यवसायमा लाग्न म महिलाहरूलाई आग्रह गर्छु ।’
मिनाको कामबाट उनका श्रीमान रामकुमार महत पनि खुसी छन् । राम्रो आम्दानी हुनथालेपछि गाउँका अन्य महिलाहरू पनि मौरीपालनमा आकर्षित हुन थालेका छन् । ‘मौरीपालन व्यवसायमा लागेपछि आफूलाई स्वतन्त्र र स्वाभिमानी महसुस गर्न थालेकी छु,’ स्थानीय संजुदेवी भन्छिन्, ‘मौरीपालनले गर्दा आत्मविश्वास बढेको छ ।’ आफूसंगै श्रीमान्, छोराछोरीले पनि काममा सघाउने गरेकोले आर्थिक पाटो पनि सबल बनेको उनी बताउछिन् ।
अर्का स्थानीय महिला मन्जु महत पनि हाल उनीसंगै मौरीपालनमा व्यस्त छिन् । श्रीमान् बिरामी परेपछि आर्थिक अवस्था सम्हाल्न उनले मौरीपालन सुरु गरिन् । बालबच्चाको पढाइ खर्च, घरमा अन्नपात र श्रीमान्को उपचार खर्च जुटाउन गाह्रो भएपछि मौरीपालन सुरु गरेँ,’ मन्जु भन्छिन्, ‘अहिले आर्थिकस्थिति सुध्रिएको छ, अहिले तनावमुक्त भएर खुसी मनाउन सक्ने भएकी छु ।’
मौरीपालनले बनस्पतिको महत्वसमेत बढाइदिएको छ । गाउँका महिलाहरू मौरीलाई काम लाग्ने बनस्पति जोगाउन लागिपरेका छन् । महिलाहरूकै सक्रियतामा गाउँकै सामुदायिक वनमा बनस्पतिको संरक्षण र वृक्षरोपणको काम सुरु गरिएको छ ।
गाउँमा चिउरीलगायतका दुई हजार विरुवा रोपिएको छ । चिउरीसंगै सिसौ, खयर, मसला लगायतका बोटविरुवा पनि रोपिएका छन् । यसले वातावरण सुधारमा समेत राम्रो काम गरेको स्थानीय बताउँछन् ।
व्यवसायमा संलग्न अधिकाशं महिला उद्यमी–व्यवसायी बनेका छन् । गाउँको निर्णय प्रक्रियामा महिलाहरूको सहभागिता बढ्न थालेको स्थानीय अगुवा रमा पौडेल बताउँछिन् । उनीहरूमा नेतृत्व क्षमताको समेत विकास भएको पौडेलको अनुभव छ । महिलाहरूको काम गाउँमा मात्रै होइन जिल्लामै र बाहिरसमेत चिनाउन सफल भएको पौडेलको भनाइ छ ।
मैरीपालनसँगै वृक्षारोपण पनि गर्न थालेपछि सर्लाहीको हरीवन नगरपालिकाले आगामी दिनमा सहयोग गर्ने प्रतिवद्ध्ता जनाएको छ । उनीहरूका लागि विशेष प्याकेज ल्याउन कार्य गरिहेको नगरपालिकाले जनाएको छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया