वीरगन्जका दुई उद्योगमा छापा, लाखौँ रुपैयाँको सोयाबिन तेल बरामद
पर्सा : जिल्ला प्रहरी कार्यालय पर्साले वीरगन्जमा सञ्चालित दुई घरेलु उद्योगमा छापा मारेर लाखौँ रुपैयाँ बराबरको सोयाबिन तेल बरामद गरेको छ । वीरगन्ज महानगरपालिका–३ आदर्श टोलमा सञ्चालित त्रिदेव रिप्याकेजिङ्ग उद्योग र शिवशक्ति रिप्याकेजिङ्ग उद्योगमा छापा मारेर लाखौँ मूल्य बराबरको सोयाबिन तेल बरामद गरेको प्रहरीले जनाएको छ ।
दुवै उद्योगले सोयाबिन तेललाई तिलको तेलको डब्बामा रिप्याकेजिङ्ग गरेर उपभोग्तालाई ठग्दै आएको सूचनाको आधारमा छापा मारिएको जिल्ला प्रहरी कार्यालय पर्साकी प्रहरी उपरीक्षक गंगा पन्तले बताइन् । उद्योगहरूले विभिन्न ब्राण्डको नाम दिएर पूजापाठका लागि प्रयोग हुने तिलको सट्टा सोयाबिन तेल बजारमा पठाएर बेच्दै आएको प्रहरी अनुसन्धानको क्रममा पाइएको उनले बताइन् ।
त्रीदेव रिप्याकेजिङ्ग उद्योगबाट ४ हजार ४ सय ५५ लिटर र शिवशक्ति रिप्याकेजिङ्ग उद्योगबाट ८ सय ६० लिटर सोयाबिनको तेल बरामद भएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । प्रहरीले दुवै उद्योगका सञ्चालकलाई पनि पक्राउ गरेको जनाएको छ । कालोबजारी र उपभोक्ता ठगेको आरोपमा प्रहरीले त्रिदेव रिप्याकेजिङ्ग उद्योगका सञ्चालक राजन कुमार बरनवाल र शिवशक्ति रिप्याकेजिङ्ग उद्योगका सञ्चालक दीपक कुमार बरनवाललाई पक्राउ गरेको हो । उनीहरूमाथि थप अनुसन्धान भइरहेको पन्तले जानकारी दिइन् ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया