नदीमा अवैध दोहन रोक्ने स्थानीय तहको प्रतिबद्धता
महोत्तरी- आफ्नो पदावधिको उत्तराद्धमा आएर बर्दिबास नगरपालिकाका जनप्रतिनिधिले नदीमा हुँदै आएको अवैध दोहन निस्तेज गर्ने प्रतिबद्धता जनाएका छन् ।नगर क्षेत्रका नदीबाट कानुनविपरीत बालुवा, ढुङ्गा उत्खनन गरी निर्यात गर्दै आएका र अवैधरूपले सञ्चालनमा ल्याइएका क्रसर उद्योग तत्काल बन्द गरिने नगरप्रमुख विदुरकुमार कार्कीले प्रतिबद्धता जनाएका हुन् । विसं २०७४ मा भएको स्थानीय तहको निर्वाचनमा निर्वाचित जनप्रतिनिधिको अब केही महिनाभित्रै पदावधि सकिदैछ ।
जिल्लामा क्रसर उद्योग (नदीबाट बालुवा, ढुङ्गा उत्खनन, प्रशोधन र निर्यात गर्ने उद्योग) का लागि बर्दिबास सबैभन्दा उपयुक्त स्थल मानिन्छ । नगर क्षेत्रमा २० भन्दा बढी यस्ता उद्योगले मनपरीसँग खाल्डा खनेर अवैधरूपमा उत्खनन गरिरहे पनि नगर नेतृत्व मुकदर्शक बनेको आरोप चुँलिदै गएपछि उनले अब अवैधरूपले सञ्चालित यस्ता उद्योग तत्काल बन्द गरिने प्रतिबद्धता जनाएका हुन् ।
'हामी अवैधरूपले सञ्चालित उद्योग तत्काल बन्द गराएरै छाड्छौँ” सञ्चारकर्मीसँगको अनौपचारिक कुराकानीमा नगर प्रमुख कार्कीले भने, 'यस क्रममा नगर क्षेत्रभित्रका सबै क्रसर उद्योगलाई आफ्नो वैधानिकता पुष्टि गर्न पत्राचार भैसकेको र अब कानुन अनुसार क्रसर उद्योगको नियमन गरिन्छ भनेर आइतबार नै घोषणा पनि गरिसकेका छौ ।'
उनले हिजै पत्रकार सम्मेलन गरेर नदीजन्य पदार्थको अवैध उत्खनन र निर्यात गर्दैआएका सबै उद्योग बन्द गरिने बताइसकिएको प्रसङ्ग दोहो¥याउँदै यसबारे २०७७ मा पारित भएको मापदण्डअनुसार कार्यान्वयन गरिने जानकारी दिए ।
बर्दिबासमा २०७४ मा भएको स्थानीय तहको निर्वाचनयता लगातार नदीको अवैध दोहन बढेकाले स्थानीय सरकार मुकदर्शक बनेको आरोप लाग्दै आएको छ । यसबीचमा क्रसर उद्योग फस्टाउँदै जानामा जनप्रतिनिधिकै लगानी रहेकाले कारबाही अघि नबढाइएको जनगुनासो बढेको छ भन्दै सञ्चारकर्मीले गरेको जिज्ञासामा नगरप्रमुख कार्कीले भने, 'मेरो कुनै क्रसर उद्योगमा लगानी वा शेयर छैन, तपाईहरु भ्रममा नरहनुहोस्, अब यस्ता अवैध उद्योग चल्न दिइँदैन । यो अभियानकै रुपमा कार्यान्वयनमा ल्याइन्छ ।'
आफ्नो कार्यकालको करिब अन्त्यतिर आएपछि अवैध उत्खनन नियमनको कुरा उठाउनु भयो नि? भन्ने प्रश्नको जवाफमा उनले २०७७ को ऐनअघि ठोस् कानुनी आधार र अधिकार स्पष्ट नहुँदा काममा जान असहज भएको बताए । रासस
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया