मधेश

सवारी दुर्घटनामा  एकको मृत्यु, १३ घाइते

इकागज |
माघ १६, २०७८ आइतबार १०:१२ बजे

सर्लाही- पूर्वपश्चिम राजमार्गअन्तर्गत सर्लाहीको ईश्वरपुर नगरपालिका–१२ बाँकेस्थित जङ्गलमा यात्रुवाहक बसले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार एक जनाको मृत्यु भएको छ भने बसमा सवार  १३ जना घाइते भएका छन् ।

सिरहाको बरियारपट्टीबाट काठमाडौँतर्फ आउँदै गरेको ना ७ ख ७५३ नंको रात्रिबसले विपरीत दिशाबाट जादै गरेको ना२९प ४४९८ नंको मोटरसाइकललाई गए राति ठक्कर दिएको थियो । मोटरसाइकललाई ठक्कर दिएपछि रात्रिबस राजमार्ग बायाँ साइडमा पल्टिदा बसमा सवार ४० जनामध्ये १२ यात्रु घाइते भएको सर्लाहीका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक माधवप्रसाद बुढाथोकीले जानकारी दिए ।


बसको ठक्करबाट मोटरसाइकल पछाडि सवार ईश्वरपुर–१२, घारीबथानका २७ वर्षीय भक्तबहादुर खड्काको घटनास्थलमै मृत्यु भएको छ भने सोही ठाउँ निवासी मोटरसाइकल चालक २६ वर्षीय अरुण खड्का गम्भीर घाइते भएका छन् । उनीलाई लालबन्दीस्थित  गढीमाई अस्पतालमा सामान्य उपचार गरी थप उपचारका लागि नेशनल मेडिकल कलेज वीरगञ्ज पठाइएको प्रहरीले जनाएको छ ।

लालबन्दी मोडेल अस्पतालमा उपचारपश्चात सात जना डिस्चार्ज भई आ–आफ्नो घरतर्फ फर्किसकेको र बाँकी चार घाइते सोही अस्पतालमा उपचार भइरहेको छ । एक जनालाई सिरहातर्फ  सिफारिस गरिएको प्रहरीले जनाएको छ । अत्यधिक कुहिरोका कारण राजमार्गमा सवारी दुर्घना बढेको छ । रासस
 


Author

थप समाचार
x