मधेश प्रदेश सरकारले ४ वर्षमा के गर्यो, के बाँकी ?
जनकपुरधाम - मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले चाहेर पनि धेरै कामहरू कर्मचारी आभाव र कानूनी अड्चनले गर्न नसकेको बताएका छन ।
प्रदेश सरकार गठनको चौथो वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री राउतले विभिन्न वाधा अवरोधका बावजूत बितेको चार वर्षमा सिमित स्रोत साधनमा प्रदेश सरकारले कानून निर्माणदेखि विकास निर्माण र सुशासन कायममा निकै कामहरु गरेको दाबी गरे । ‘शुरुमा पूर्वाधारकोसमेत अभाव रहेको अवस्थामा गएको चारमा धेरै नै उपलब्धी हासिल गरेका छौं ।’ उनले भने ।
चार वर्षमा बेटी पढाउ बेटी बचाउ, प्राविधिक विश्वविद्यालय, मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान, मधेशी शहीद प्रतिष्ठान, दलित सशक्तिकरण समिति र जनलोकपाल आयोगलगायतका ठूला गौरवका आयोजनाहरुमा काम गरेको उनले बताए।
मुख्यमन्त्री राउतले बितेका चार वर्षमा ४४ वटा कानून निर्माण, प्रदेशको प्रशासनिकसहितको संरचना निर्माणका लागि समिति गठन, मधेश आन्दोलनका शहीद परिवारहरुलाई रोजगारी, मधेश आन्दोलन र जनयुद्धका शहीद परिवारहरुलाई राहत स्वरुप आर्थिक सहयोग, गम्भीर प्रकृतिको रोगी, विपन्न तथा सीमान्तकृत वर्गलाई राहत र स्वच्छता अभियान अन्तर्गत प्रदेश भित्रका विभिन्न मन्दिर र पोखरीहरुको सौन्दर्यकरण लगायतका कामहरु प्रदेशले गरेको हो।
कोभिड महामारीका बेला त्यससँग लड्न प्रदेश सरकारले निशुल्क पिसीआर परिक्षणदेखि उपचारको व्यवस्था, राहत वितरण, मार्कामा परेका किसानलाई ऋण छुट, कोरोना विरुद्धको मास्क, सेनीटाइजर वितरण र सुविधा सम्पन्न अस्पतालको निर्माण राम्रो कामहरु गरेको छ।
मुख्यमन्त्री राउतले भने ‘कर्मचारी आभाव र कानून अड्चनले गर्दा प्रदेशमा सुशासन कायम गर्नेसहित धेरै यस्ता कामहरु छन जुन हामीले चाहेर पनि गर्न सकेका छैनौं।’ यहाँ ४४ वटा कानून पनि गरिएको छ। ‘अधिकांश कानूनहरु संघीय कानूनहरु नबनेको अवस्था र बाँझिएको कारण कार्यान्वयनमा आउन नसक्दा योजनामा समावेश भएपनि गर्न सकिएको छैन ।’ उनले भने।
प्रदेश सरकारले सबै दलको सहयोगमा जनताको अपेक्षाअनुसार प्रदेशको नाम मधेश प्रदेश र राजधानी जनकपुरधाम कायम गर्न सफल भएको दाबी गर्दै उनले ४÷५ महिना भित्रै भाषाकोसमेत टुंगो लगाइने बताए।
प्रदेश सरकारले आफ्ना चार वर्षे कार्यकालको उपलब्धी दस्तावेजमा मन्त्रालयगत हिसाबले उल्लेख गरेको छ। सामाजिक विकास मन्त्रालयले स्वास्थ्य क्षेत्रमा ऐन निर्माणदेखि जनस्वास्थ्य प्रयोगशालासहितका ३८ वटा, शिक्षा तथा समाजिक क्षेत्रमा प्राविधिक विश्वविद्यालय स्थापनादेखि प्रदेशका जिल्लाहरुमा सामुदायिक भवन, बर्थिंग सेन्टर र रंगशाला निर्माणसहित १७ वटा महत्वपूर्ण कार्यहरु गरेको उल्लेख गरिएको छ ।
त्यस्तै भौतिक पुर्वाधार विकासतर्फ सबै प्रादेशिक निर्वाचन क्षेत्रमा ५ किलोमिटर कालेपत्रे सडक निर्माण प्रक्रिया अगाडि बढाउनेदेखि सामुदायिक भवन, धर्मशाला र जनता आवास निर्माण लगायतका कार्यहरू सम्पन्न गरेको सो दस्तावेजमा उल्लेख छ। भूमि व्यवस्था, कृषि तथा सहकारीतर्फ अनुदान कार्यक्रम, सचेतना तथा सेवा प्रवाह सम्बन्धी विशेष कार्यक्रमहरू पनि गरेको प्रदेश सरकारले दाबी गरेको छ।
उद्योग, पर्यटन तथा वातावरणतर्फ वन तथा वातावरण, उद्योग वाणिज्य तथा पर्यटन, सामाजिक सुरक्षा, आर्थिक विकास योजना निर्माण सहित आन्तरिक सुरक्षा, विपद् व्यवस्थापन र सूचना तथा सञ्चार तर्फ सञ्चार सम्बन्धी विभिन्न संस्था गठन लगायतका महत्वपूर्ण कामहरू गएको चार वर्षमा सम्पन्न गरिएको दस्तावेजको रुपमा प्रदेश सरकारद्वारा प्रकाशित पुस्तकमा उल्लेख गरिएको छ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया