मधेश

जनकपुरधाम उपमहानगरपालिकामा अख्तियारको छापा

सुभाष कर्ण |
माघ १९, २०७७ सोमवार १९:२१ बजे

जनकपुरधाम : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनकपुरधाम उपमहानगरपालिकाको कार्यालयमा छापा मारेको छ । आयोगको बर्दिबासस्थित कार्यालयको टोलीले उपमहानगरपालिकाविरुद्ध उजुरी परेपछि सोमबार छापा मारेको हो । 

अख्तियार कार्यालय बर्दिबासका उपसचिव मनिराम ज्ञवालीको नेतृत्वको टोलीले उपमहानगरविरुद्ध परेका उजुरीहरूको बिहान १० बजेदेखि दिउसो साढे ४ बजेसम्म छानबिन गरेको छ । लेखा, जिन्सी, कार्यालयमा भए गरेका कामकाजको अभिलेख प्रणालीको सन्दर्भमा टोलीले अनुगमन तथा निरीक्षण गर्न सुरु गरेको टोलीको नेतृत्वकर्ता उपसचिव ज्ञवालीले जानकारी दिए ।


उपमहानगरद्वारा सञ्‍चालन भएका योजनाहरूको स्थलगत अनुगमन निरन्तर जारी रहने उनले बताए । टोलीले अहिलेसम्म ४ उजुरीमाथि छानबिन गरिसकेको र बाँकी उजुरीमाथि छानबिनलाई जारी राखिने र गलत देखिएमा दोषीलाई कारबाहीको दायरामा ल्याउने अख्तियारले जनाएको छ ।

श्रोतका अनुसार अख्तियारले उजुरी परेका मध्येका केही सम्पन्‍न योजनाका फाइलसमेत नियन्त्रणमा लिएको छ । ती फाइलको अध्ययन तथा छानबिन कार्यालयमै बसेर गरिनेछ भने फरक देखिएमा सम्बन्धित व्यक्तिलाई कार्यालयमै बोलाई अख्तियारले सोधपुछ गर्नेछ ।

ज्ञवाली नेतृत्वको टोलीमा इन्जिनियर सदन श्रेष्ठ, लेखा अधिकृत मनोज सुनुवार, कम्प्यूटर अपरेटर राहुल जयसवाललगायत छन् ।

उपमहानगरकी उपमेयर रीता मिश्रले विभिन्‍न योजनाविरुद्ध परेको उजुरी छानबिन गर्न अख्तियारको टोली कार्यालयमा आएको बताइन । उनले भनिन्, 'उपमहानगरपालिका सम्पन्‍न १०/१५ वटा योजनाविरुद्ध अख्तियारमा उजुरी परेको थियो, त्यसैबारे छानबिन गर्न अख्तियारको टोली कार्यालयमा आएको थियो । तर कुनै गल्ती नभेटाएपछि छानबिन गरी फर्केर गयो ।'


Author

थप समाचार
x