मधेश

जनकपुरधाममा झडप, पूर्वमन्त्री यादव र झासहित दर्जन घाइते

प्रहरीद्वारा १२ राउण्ड हवाई फायर

सुवास कर्ण |
माघ २२, २०७७ बिहीबार १४:५३ बजे

जनकपुरधाम : प्रहरीकाे लाठीचार्जबाट जनकपुरधाममा नेकपाकाे दाहाल-नेपाल समुहका पूर्वमन्त्रीद्वय मातृका यादव र रामचन्द्र झासहित एक दर्जन नेता कार्यकर्ता घाइते भएका छन् । जनकपुरधाममा बजार बन्द गराउँदै हिँडेका उनीहरुलाई शिव चाेकमा प्रहरीले हस्तक्षेप गर्दा झडप भएकाे छ । झडपकाे प्रहरीले लाठी चार्ज गर्दा यादव र झा सहितका नेता कार्यकर्ताहरू घाइते भएका भएका हुन् ।

नेता झाकाे टाउकोमा चोट लागेको नेकपा जिल्ला सचिव दीपक यादवले जानकारी दिए । पूर्वमन्त्री यादव र नेता झासहितका घाइतेलाई उपचारका लागि प्रादेशिक अस्पताल जनकपुरमा पठाइएकाे छ ।


घाइते हुनेहरूमा यादव र झासहित शिवकुमार गाेइत, सुरेश कापर, कारीराम यादव, प्रदीप साह, रूपेश विराजी, उमेश साह, रंजित पांडे, अपराजय मण्डल, सुभाष मण्डल, विरजु विराजी रहेका छन् । प्रहरीकाे गाडीमाथि आक्रमण गर्न खाेज्दा झडप भएकाे र झडपको क्रममा प्रहरीले लाठीचार्ज गर्नुका साथै १ दर्जन राउन्ड हवाई फायर गरेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

बजार बन्द गराउन हिँडेका दर्जनाैँ प्रदर्शनकारीलाई प्रहरीले नियन्त्रणमा लिएकाे छ । उता महाेत्तरी बर्दिबासमासमेत प्रहरीकाे लाठी चार्जबाट प्रर्दशनकारी घाइते भएका छन् ।  बर्दिवास नगरपालिका ३ का अध्यक्ष राजन ढुंगाना घाइते भएका हुन् ।


Author

थप समाचार
x