मधेश

यसरी धरायसी बन्‍यो राराब क्‍याम्पस

सुभाष कर्ण |
कात्तिक १७, २०७७ सोमवार ९:२५ बजे

जनकपुरधाम : जनकपुरधामस्थित रामस्वरुप रामसागर बहुमुखी (राराब) क्याम्पसमा धरायसी हुने अवस्थामा पुगेको छ । कुनै समयमा १० हजारभन्दा बढी विद्यार्थीले भरिभराउ रहने राराब क्याम्पसमा करीब ७/८ वर्षदेखि विद्यार्थी आभावमा सुनसान देखिन थालेको छ । सो क्याम्पसमा तीन हजारको हाराहारीमा छन तर पढाई नै नहुने भएपछि उनीहरु क्लास नगरी परीक्षा दिन मात्रै आउने गरेका छन् ।

सो क्याम्पसमा ओखलढुंगा, बारा, पर्सा रौतहट, रामेछाप र सिन्धुलीलगायतका दर्जनौं जिल्लाका विद्यार्थी डेढ दशक अघिसम्म सो क्याम्पसमा पढन आउने गर्थे । क्याम्पसमा दिनदिनै खस्किदै गएको अवस्थाका कारण 'क' वर्गमा रहेका सो क्याम्पस अहिले 'ग' वर्गमा झरिसकेको छ । यस क्याम्पसबाट पढेकाहरु देशकै उच्च पदसम्म पुगिसकेका छन् । देशका चर्चित डाक्टर, इन्जिनियर र मन्त्री सांसदसहितका राजनीतिज्ञसमेत यस क्याम्पसबाट उत्पादन भएका छन् । तर सरकरी तथा त्रिभुवन विश्वविद्यालयको नीतिले आज ती क्याम्पसमा विद्यार्थी हुनुको सट्टा बिरान बनेका छन् । देशकै जेठो क्याम्पस मध्येका एक रहेका करिब ७ दशक लामो इतिहास बोकेका यी राराब क्याम्पस सरकारी नीति र कार्यरत प्राध्यापकहरुको कारण धरायसी हुँदै गएको क्याम्पस प्रशासनको आरोप छ ।


'प्राध्यापक भाव र सरकारले शिक्षालाई निजीकरण गर्दै गएको कारण आज राराब क्याम्पस दुरावास्थामा पुग्‍यो' क्याम्पस प्रमुख प्रदीप प्रसाद साहले इकागजसँग भने 'क्याम्पस प्रमुख साहले सरकारले शिक्षालाई पनि निजीकरण गर्ने गरेको निर्णय आफ्नै खुट्टामा बञ्चरो हान्ने सरह साबित भयो ।' प्रवीणता प्रमाण तहलाई उच्च शिक्षाबाट खारेज गर्नु, टियूले विभिन्न संकायको फैकेल्टीहरुलाई प्याकेजिंग सिस्टममा प्राइभेटकरण गरेको कारण पनि राराब लगायतका सरकारी क्याम्पसमा विद्यार्थी अध्यापन गर्न छाडेका हुन ।

जनशक्ति अभाव 
केही वर्षअघिसम्म यस क्याम्पसमा डेढ सय प्राध्यापकको दरबन्दी भए पनि अहिले ८० को संख्यामा झरेको प्रमुख साहले बताए । प्राध्यापकहरु अवकाश हुँदै गए तर टियूले त्यो रिक्त स्थानमा पदपूर्ति नगरेको कारण अहिले अधिकांश विषयको प्राध्यापक नै छैनन । 'केही विषयका लागि आंशिक रुपमा प्राइभेटबाट प्राध्यापक हाइयर गरी कक्षा सञ्चालन गर्ने प्रयास गरेका छौं तर क्याम्पसको आन्तरिक श्रोत्रले त्यो भार थेग्न गाह्रो छ' उनले भने ।

क्याम्पसमा पोलिटिकल साइन्स विषयमा १ सय विद्यार्थी भर्ना लिई सकिएको छ तर शिक्षक नै छैनन् । त्यस्तै इतिहास तथा भूगोल विषयका शिक्षक नै छैनन् । नेपाली विषयका लागि १ जना प्राध्यापक मात्रै छन । प्राध्यापक आभावकै कारण दुई वर्षअघिसम्म अध्यापन हुँदै आएको बीएससीआईटी र माइक्रोबायोलोजी संकाय अध्यापन हाल बन्द गरिएको छ । क्याम्पसले स्नातक तहमा विज्ञान, वाणिज्य, मानविकी, शिक्षा, कम्प्युटर, वातावरण विज्ञानलगायतका विषयहरू सञ्चालनमा रहेको छ ।

त्यस्तै स्नातकोत्तर तर्फ गणित, इपीएम, अंग्रेजी, राजनीति शास्त्र, अर्थशास्त्र, जनसंख्या, सामाजिक विज्ञान, नेपाली, मैथिलीलगायतका संकाय सञ्चालनमा छन् । तर प्राध्यापक अभावका कारण कहिले क्लास संचालन हुन्छ त कहिले बन्द हुन्छ । 
५ वर्ष अगाडीसम्म १ सय ५० भन्दा बढी प्राध्यापकको दरबन्दी थियो तर हाल ८० जनामा सीमित भई सकेको क्याम्पस प्रमुख साहले जानकारी दिए । उनका अनुसार आगामी ५ वर्षभित्रै २५ देखि ३० जना अझै अवकाश प्राप्त हुनेछन् । नयाँ दरबन्दी पूर्ति नभएको कारण आउने समयमा क्याम्पस सञ्चालन गर्न धौ धौ पर्नेछ ।

निजीकरणले समस्या 
टियू केन्द्रले बीएड, एमएड, एमबीएस संकायलाई निजीकरण गरिदिएपछि समेत यहाँ विद्यार्थी नआई निजी क्याम्पसमा जाने गरेको प्रमुख साहले आरोप लगाए । उनले भने 'एक त विद्यार्थी नै यहाँ आउँदैनन र आएका विद्यार्थीहरुलाई पढाउन प्राध्यापक समेत भेटिदैनन् किनकी हामी भन्दा राम्रो पैसा निजी क्याम्पस संचालकहरुले ती प्राध्यापकहरुलाई दिइरहेका छन् ।' सो क्याम्पसका पुर्व प्राध्यापक सुरेन्द लाभ भन्छन् 'कुनै समयमा राराबबाट पढेका विद्यार्थीहरुको देश मात्रै होइन विदेशमा समेत नाम चल्ने गर्थ्यो तर अहिले वर्तमान अवस्था हेर्दा निकै दु:ख लाग्छ । सरकारको बेवास्ता र टियूको निजीकरण सहितका गलत नितीको कारण यस्तो दुरावास्थामा पुगेको हो ।'

प्राध्यापकहरु सरकारी नीतिलाई दोषी ठहराइरहँदा पूर्व क्याम्पस प्रमुख नवेन्द्र निधिले प्राध्यापकहरुकै रबैयाका कारण आज राराब क्याम्पसको यस्तो हविगत भएको आरोप लगाए । 'राराबका स्थायी प्राध्यापकहरूले आफ्नै नीजि क्याम्पस सञ्चालन गरेका छन्, कागजी रुपमा नदेखिए पनि लगानी गरेका छन्,’ निधिले भने, 'आफ्नै लगानी भएपछि मोह पलाउनु स्वभाविकै हो । यसमा टियू पनि दोषी छन् ।' प्राध्यापकहरूले निजी कलेजमा पढाउनुपूर्व त्रिभुवन विश्वविद्यालयबाट स्वीकृति लिनुपर्ने प्रावधान छ । क्याम्पसमा घण्टी रहेको समय प्राध्यापकहरू निजी शैक्षिक संस्थामा पढाउन पाउँदैनन् । तर, प्रावधान कार्यान्वयन हुन सकेको छैन् ।

राराबमा कक्षा लिनुपर्ने समयमा अधिकांश प्राध्यापकहरू नीजि शैक्षिक संस्थामा पढाइरहेका हुन्छन् । उनका अनुसार टियूको विधान अनुसार सरकारी क्याम्पस भएको ठाउँबाट ५ किलोमीटर भित्र नीजि क्याम्पस खोल्न प्रतिबन्ध लगाइएको छ । तर जनकपुर क्षेत्रमा राराब क्याम्पसको २ किलोमिटरभित्रै करीब एक दर्जन नीजि क्याम्पसलाई सञ्चालनको स्वीकृति दिएका छन् ।

स्नातक अध्ययनरत विद्यार्थी सुमित साहले भने 'अहिले त कोभिड-१९ ले गर्दा क्लास भइरहेको छैन् । तर यसअघि पनि कहिलेकाहीँ मात्रै पढाई हुन्थ्यो । कहिले प्राध्यापक छैन त कहिले विद्यार्थी नै छैनन् भन्दै क्लास हुँदैन । टियुसनको भरमा मात्र हामीहरु पढदै आएका छौं ।'


Author

सुभाष कर्ण

कर्ण मधेस प्रदेशस्थित इकागज प्रतिनिधि हुन्।


थप समाचार
x