रामजानकी डोलासँगै मिथिला परिक्रमा
जनकपुरधाम- प्राचीन मिथिलामा ‘महाकुम्भ’ भनिने १५ दिने मिथिला मध्यमा परिक्रमा शुक्रबार सम्पन्न भएको छ । नेपालकै सबैभन्दा लामो पदयात्रा रुपमा रहेको मिथिला मध्यमा परिक्रमा नेपालका ११ र भारतका चारवटा धार्मिक स्थलहरुको भ्रमण गर्दै अन्तिम दिन जनकपुरधाम नगरको वृताकारमा परिक्रमा गर्दै सम्पन्न भएको हो ।
कुल १५ दिनको यात्रा अवधिमा लाखौँ श्रद्धालुहरू भगवान श्रीरामजानकी डोलासँगै नेपालका १ सय १६ र भारतको १७ किलोमिटरसहित जनकपुरधामको १५ किलोमिटरको पैदल यात्रा गरेका छन् । यात्रा अवधिमा श्रद्धालुहरूले धनुषाका ६, महोत्तरीको ५ र भारतको ४ वटा धार्मिक स्थलको भ्रमण गरेका हुन ।
फागुन औँसीका दिन फागुन १९ गतेबाट धनुषाको ठेराकचुरीस्थित मिथिला विहारी मठबाट अवधविहारी (श्रीराम) को डोलासहित सुरु भएको मध्यमा परिक्रमा बिहीवार अन्तिम पडावको रुपमा जनकपुरधाम पुगेर शुक्रवार अन्तगृह परिक्रमा गरेका छन । सो परिक्रमासँगै सियाराघव शरण मठबाट माता जानकीको डोलासमेत भ्रमण गरेका छन् ।
भगवान श्रीरामजानकीको डोलासँगै मिथिलाका मध्यम भागमा पर्ने धार्मिक स्थलहरुको परिक्रमा गर्दा परिवारमा सुख, शान्ति, समृद्धि आउने, मोक्षको प्राप्ति हुने जनविश्वास रहेको छ । त्रेता युगमा श्रीराम र श्री सीताजीको विवाहपश्चात् विवाह उत्सव हेर्न नपाएका मिथिलावासीलाई बिदाइ अघि मिथिलाका मध्यभागका क्षेत्रहरूमा भगवान श्रीराम जानकीलाई भ्रमण गराइएको थियो ।
सोही स्मरणमा परापूर्वकालदेखि मिथिलाञ्चलमा मध्यमा परिक्रमा प्रत्येक वर्ष गरिँदै आएको छ । सो परिक्रमा नेपाल भारतका लाखौँ श्रद्धालुहरू १५ दिनका खानपिनका सामाग्री र कपडालतासहित श्रद्धालुहरू मिथिलाका मध्यभागमा पर्ने नेपाल भारतका १५ वटा धार्मिक स्थलको भगवान श्रीरामजानकीको डोलासँगै परिक्रमा गर्दै आएको जानकी मन्दिरका उतराधिकारी महन्थ रामरोशन दास वैष्णवले बताएका छन् ।
उनले भने ‘परिक्रमामा सहभागी हुँदा धार्मिक लाभका साथै १५ दिनसम्म पैदल यात्रा गर्दा स्वास्थ्य लाभ भएकाले आरोग्यदायक रहेको छ ।’ मध्यमा परिक्रमा कहिलेदेखि सुरु भएको यकिन तिथिमिति नभए पनि १८ औँ शताब्दीदेखि प्रारम्भ भएको मानिँदै आएको छ ।
मिथिला महात्म्यमा मिथिलामा बृहत् , मध्यमा र अन्तगृह गरी तीनवटा परिक्रमाको चर्चा रहेको छ । जनकपुरधाममा हुने अन्तगृह परिक्रमालाई पंचकोस दूरीमा परिक्रमा गर्ने भएको हुनाले यसलाई पञ्चकोसी परिक्रमा भनिँदै आएको छ ।
प्राचीन मिथिलाका हरिहरक्षेत्र, कोशी नदीसहितका सबै क्षेत्रको गरिने परिक्रमालाई वृहत परिक्रमा रहेको छ । फागुन औँसीदेखि पूर्णिमासम्मको मिथिला क्षेत्रको मध्यभागका परिक्रमालाई मध्यमा परिक्रमा भनिँदै आएको छ । वृहत वा मध्यमा कुनैपनि परिक्रमा गर्दा अन्तगृह परिक्रमा नगरेसम्म सफल नहुने धार्मिक मान्यता रहेको कारण यी परिक्रमा सहभागीहरू पनि अन्तगृह परिक्रमामा सहभागी हुँदै आएका छन ।
मिथिला क्षेत्रमा परिक्रमा सम्पन्नपश्चात् मात्र होली मनाउने परम्परा रहेको छ । सो मान्यता अनुरुप एक दिनपछि फागु पूर्णिमा पश्चात होली मनाइँदै आएको छ । सो मान्यता अनुरुप जनकपुरधामसहित मिथिला क्षेत्रमा शनिवार होली मनाइनेछ ।
परिक्रमाको हिन्दूधर्म, संस्कृति र परम्परामा यसको ठूलो महत्व रहेको छ । परिक्रमालाई प्रदक्षिणा पनि भन्ने गरिन्छ । प्रदक्षिणा अति प्राचीन परम्परा हो । यसलाई षड्शोपचार पूजाको अङ्ग मानिएको छ । परिक्रमा भन्नाले कुनै क्षेत्रको वृत्ताकार भ्रमण हो । सामान्य अर्थमा परिक्रमा भनेको कुनै व्यक्ति, देवमूर्ति र पवित्रस्थललाई केन्द्र मानी श्रद्धापूर्वक चारैदिशामा सुनिश्चित भूभागमा घुम्ने धार्मिक क्रियाकलाप हो । धार्मिक ग्रन्थहरूमा मात्र दुईवटा परिक्रमाको चर्चा छ ।
सत्ययुगमा भगवान शिवलाई उनका छोरा गणेशले परिक्रमा गरेको तथा त्रेतायुगमा भगवान श्रीरामजानकीलाई मिथिला नगरको परिक्रमा गराइको उल्लेख छ । शिवपुराणमा उल्लेख भएअनुसारको सबभन्दा कम समयमा ब्रम्हाण्डको भ्रमण गर्न सक्छन् भन्ने कैलाशपुरीमा देवी देवताहरूबीच प्रतिस्पर्धामा भगवान शिवका छोरा गणेशले आफ्ना आमाबुवालाई ब्रम्हाण्ड मानेर तीन पटक परिक्रमा गरी विजेता बनेको विश्वास गरिन्छ ।
परिक्रमा बारे अर्को चर्चा मिथिला महात्म्यमा रहेको छ । भगवान श्रीरामजानकी बीच भएको विवाहपश्चात्, विवाहोत्सव हेर्न नपाएका नगरवासीलाई दर्शन गराउन नवविवाहित जोडी श्रीरामजानकीलाई मिथिला नगरको परिक्रमा गराइएको थियो ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया