मधेश

जनकपुरधामले शहरी स्वास्थ्य केन्द्र विस्तार गर्दै

विभिन्न ११ वटा वडामा स्वास्थ्य केन्द्रको भवन निर्माण हुने

सुभाष कर्ण |
चैत ७, २०७८ सोमबार १७:१ बजे

जनकपुरधाम–जनकपुरधाम उपमहानगरपालिकाले नागरिकको स्वास्थ्य उपचारमा सहजता प्रदान गर्ने उद्देश्यले नगरक्षेत्रमा शहरी स्वास्थ्य केन्द्र विस्तार गर्न लागेको छ।
नगरवासीको स्वास्थ अवस्थामा सुधार ल्याउने र सबै नागरिकको स्वास्थ्यमा सहज पहुँच पुर्‍याउने नीति तथा योजना अन्तर्गत उपमहानगरपालिका भित्र विभिन्न ११ वटा वडामा शहरी स्वास्थ्य केन्द्र विस्तार गर्न लागेको हो।

उपमहानगरपालिकाले वडा नं ७, १२, १३, १४, १५, १८, १९, २०, २२, २३ र २४ मा सहरी स्वास्थ्य केन्द्र विस्तार गर्न लागेको हो। त्यसका लागि भवन निर्माण कार्य तीव्र रुपमा अघि बढाइएको उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रद्मम्नप्रसाद उपाध्यायले जानकारी दिए।


उपमहानगरको सबै वडामा स्वास्थ्य केन्द्र संचालन रहेको छ। तर नगरको २५ वडा मध्ये १४ वटा वडाको स्वास्थ्य केन्द्र आफ्नै भवनमा सञ्चालन गरिरहेका छन्। भवन अभाव रहेका ११ वटामा स्वास्थ्य केन्द्रको भवन निर्माणको कार्य थालिएको उनले बताए।

आफ्नो भवन नभएका वडाहरूले विद्यालय र वडा कार्यालय भवनमा कतिपय घर भाडामा लिई स्वास्थ्य चौकी सञ्चालन गरिँदै आएको थियो। पटकपटक ठाउँ परिवर्तन जस्ता समस्याले गर्दा सेवा लिन आउने नगरवासी र सेवा दिने स्वास्थ्य केन्द्रलाई समस्या हुने गरेकोले सहज रुपले स्वास्थ्य सेवा प्रदान गर्न आफ्नै भवन निर्माण कार्य अघि बढाइएको अधिकृत उपाध्यायले बताए।

एघार वटै स्वास्थ्य केन्द्रको भवन निर्माण लागि कुल चार करोड ४७ लाख २९ हजार ७२ सय ९ रुपैया बजेट छुटयाइएको छ, जसमध्ये कतिपय निर्माणको अन्तिम चरणमा छ भने कतिपय निर्माणकै क्रममा रहेकाले औसत करिब ७० प्रतिशत काम सम्पन्न भइसकेको योजना शाखाका प्रमुख विरेन्द्र यादवले जानकारी दिएका छन्।

उनका अनुसार उपमहानगरपालिकाले चालु आ.ब.को जेठ मसान्त भित्रै निर्माण कार्य सम्पन्न गर्ने गरी बोलपत्र आह्वान गरी गत आर्थिक वर्ष २०७८ साल जेठ ५ गते नै रामजानकी निर्माण सेवा प्रालिसँग ठेक्का सम्झौता गरेको थियो।

आफू निर्वाचित भएदेखि नगरक्षेत्रको स्वास्थ्य, शिक्षा, भौतिक पूर्वाधार, पर्यटक प्रवद्र्धन लगायतका कार्यलाई प्राथमिकतामा राखेर काम गरिरहेको नगरप्रमुख लालकिसोर साहले बताए। कुनैपनि नगरवासी स्वास्थ्य सेवाबाट वंचित नहोस र सहज ढंगले प्राप्त गरोस भन्ने उद्देश्यले भवन नभएका स्वास्थ्य केन्द्रको भवन निर्माणको कार्य अघि बढाइको उनले भने।


Author

सुभाष कर्ण

कर्ण मधेस प्रदेशस्थित इकागज प्रतिनिधि हुन्।


थप समाचार
x