सत्ताबाट हट्नुपर्ने भएपछि एमसीसीको पक्षमा लागेको प्रचण्डको खुलासा
जनकपुरधाम–नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शान्ति प्रक्रिया पूरा गर्न देश बचाउन बाध्यतात्मक परिस्थितिमा एमसीसी परियोजनाको पक्षमा मत हालेको बताएका छन्।
मंगलवार जनकपुरधाममा मधेश प्रदेशको आयोजित प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले गठबन्धनका नेतृत्वकर्ता प्रधानमन्त्री शेरबहादुर प्रतिगमनकारी एमालेसँग मिल्न गएको देखेर बाध्यात्मक परिस्थितिमा हामीले एमसीसी परियोजनालाई स्वीकार गरेर पक्षमा मत हालेको बताए।
देउवाजीले गठबन्धनलाई छोडेर प्रतिगमनकारी शक्ति केपी ओलीसँग मिलेर जाने सहमति गरेपछि हामीले देशलाई बचाउन एक कदम पछि हटेर पास गर्नेमा सहमति जनाएको उनको भनाइ थियो।
‘देउवाजीसँग ओलीको सहमति पश्चात हामी पनि लाज पचाएरै निकास खोज्न ओलीसँग भेटन गयौं,’ उनले भने, ‘तर ओलीले कुनै टेरपुच्छर नलगाई हामीसँग सभामुखलाई हटाउ, आफूमाथि लगाइएको १९ बुँदे आरोप खारेज गरौ र माधवजीको समाजवादीका १४ जना सांसदलाई हटाउ शर्त राखे ।’ उनको यो शर्तले गठबन्धन नै टुटने भएको देखेर हामी पछाडि फर्केर एमसीसी परियोजना संसदबाट पारित गर्ने निष्कर्षमा पुगेको खुलासा गरे ।
उनले देउवाजीसँग ओली मिलेर गएको अवस्थामा वा हामीले ओलीको कुरा मानेर गएको दुवै अवस्थामा हाम्रो हातबाट सरकार जाने, प्रदेशको सरकार पनि जाने र सभामुख जस्ता पदसमेत खोसिने अवस्था रहेको उनले बताए ।
कार्यक्रममा अध्यक्ष प्रचण्डले आगामी निर्वाचन बारे नेता कार्यकर्ताहरुलाई भने निर्वाचनमा माओवादी हारेको खण्डमा देशले नै हार्ने दाबी गरे। ‘अरु पार्टी हारे भने देशलाई कुनै असर पर्नेछैन,’ उनले भने, ‘त्यसैले जसरी भएपनि हामी जित्ने प्रयासमा जुट्नुपर्छ ।’
लामो संघर्षपछि भएको राजनीतिक परिवर्तनलाई उल्ट्याउने षडयन्त्र देशी–विदेशी प्रतिक्रियावादीबाट भइरहेको भन्दै उनले माओवादी परिवर्तनको नायक भएका नाताले पनि आफूहरुले आगामी चुनाव हार्न नहुन बताए। ।
यसका लागि आक्रामक ढंगले गएर प्रतिक्रियावादीविरुद्ध जनतालाई आन्दोलित र संगठित गर्नुपर्नेमा जोड दिदैं उनले कार्यकर्ताहरुलाई भने, ‘हाम्राविरुद्ध षड्यन्त्र गर्ने, धाँधली गर्न चाहनेलाई ईँटाको जवाफ पत्थरले दिने गरी तयारी गर्नुपर्छ ।
‘देशमा राजनीतिक परिवर्तन आउनुअघि काठमाडौंकाले मधेसका जनतालाई जहिले पनि दोस्रो दर्जाका नागरिकको रुपमा हेर्दै आएको थियो,’ उनले भने, ‘तर हामीले सशस्त्र युद्ध र जनआन्दोलनबाट त्यस्ता विभेदको रेखा कोर्ने राजा–महाराजालाई परास्त गरियौं ।’
प्रतिगमनविरुद्धको संघर्षमा मधेसले फेरि पनि अगुवा भूमिका खेलेको भन्दै उनले मधेश केन्द्रित दलको प्रसंशा समेत गरे । तराई मधेस रणनैतिक, भौगोलिक उपस्थितिको हिसाबले पनि धेरै महत्वपूर्ण रहेको भन्दै उनले नेपालको राष्ट्रिय एकता र राष्ट्रिय स्वाधिनता, नेपालको भौगोलिक अखण्डताको रक्षामा माओवादी पहरेदारको रुपमा अघि बढेको बताए।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया