बेसहाराका लागि आश्रयस्थल भवनको शिलान्यास
जनकपुरधाम–बेवारिसे मानिसको आश्रय स्थलको रुपमा रहेका वीरगञ्जस्थित मानव सेवा केन्द्रको आफ्नै भवनको मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले एक समारोहका बीच शिलान्यास गरेका छन् ।
वीरगञ्ज महानगरपालिका १५ लक्ष्मणवामा महानगरपालिकाले उपलब्ध गराएको १८ कठ्ठा जग्गामा सुविधा सम्पन्न भवन निर्माणका लागि मुख्यमन्त्री राउतले शिलान्यास गरेका हुन् ।
सो शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री राउतले भवन निर्माणका लागि प्रदेश सरकारले ३० लाख रकम छुट्याइसकेको जानकारी दिदैं जग्गा अभावका कारण ढिलाई हुँदै आएको थियो । अब आफ्नै जग्गा भइसकेपछि आगामी आर्थिक वर्षमासमेत थप आवश्यक बजेट उपलब्ध गराउने उनले प्रतिबद्धता जनाए ।
मुख्यमन्त्री राउतले भवनले मात्रै मानवको सेवा हुन नसक्ने भएकाले भवन निर्माणका साथै सञ्चालनको गुरु योजना सहितको प्रस्ताव समेत प्रदेश सरकारलाई उपलब्ध गराए दिर्घकालीन रुपमा बजेट व्यवस्थापनको व्यवस्था गर्ने बताएका छन्।
आश्रमका केन्द्रिय अध्यक्ष रामजी अधिकारीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा संघीय सांसद प्रदिप यादव, महानगर प्रमुख विजय सराबगीसहितको सहभागिता रहेको थियो ।
करिब १८ करोड लागतमा निर्माण हुन लागेको उक्त भवन तीन बर्ष भित्र पूरा गरिने लक्ष्य राखिएको अध्यक्ष अधिकारीले जानकारी दिएका छन् । भवन निर्माणका लागि गएको भदै महिनामै महानगरपालिकाले समेत २५ लाख रुपैयाँ उपलब्ध गराएको थियो ।
आश्रमको दिर्घकालीन सञ्चालनको उद्देश्य आत्मनिर्भर बनाउने योजना सहितको भवन निर्माण लागिएको जानकारीसमेत अध्यक्ष अधिकारीले बताएका छन् । भोजपुरी कला सँस्कृति झल्कने, वातावरण सुहाउँदो, भूकम्प प्रतिरोधी र वास्तु शास्त्र मिलाएर भवन बनाइने उनले बताए ।
सो भवनमा बाँस लगायत स्थानीय स्रोत साधनको बढी प्रयोग गर्ने उद्देश्य राखिएको छ । १४ कठ्ठा जमिनमा भान्छा घर, तालिम हल, सहयोगी पक्षलाई राख्ने कोठाहरु, हेरचाहमा खट्नेहरुका लागि आवास र आश्रममा आउने पाहुनाका लागि अतिथि गृहसमेत बनाइने अधिकारीले बताएका छन् ।
२०७४ जेठ १५ गते स्थापना भएको मानव सेवा आश्रम वीरगञ्ज शाखामा करिब पाँच दर्जन व्यक्ति आश्रित छन् । सडकमा अलपत्र परेका बेसाहारा सहयोगापेक्षी मानिसलाई आश्रमले गाँस, बास र कपाससँगै औषधि उपचारको व्यवस्था गर्नुको साथै आश्रमले तिनीहरुलाई पारिवारिक वातावरणमा भरणपोषण गर्दै आएको छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया