मधेश

“बेटी पढाउ–बेटी बचाउ” र “स्वच्छता अभियान” कार्यक्रम

कमिसन नपाउँदा सचिव भुषालले फाइल गायब गरेको आरोप

सुभाष कर्ण |
चैत १२, २०७८ शनिबार २१:११ बजे

जनकपुरधाम– मधेश प्रदेश सरकारले गौरवको योजना भन्दै आएको “बेटी पढाउ–बेटी बचाउ” र “स्वच्छता अभियान” कार्यक्रमको सम्पन्न कामका फाइलहरु लिएर मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका पूर्व सचिव गायब भएको आराेप लगाइएकाे छ।

योजनामा काम गरेका व्यवसायीहरुले ती कार्यक्रमको प्रमुख हर्ताकर्ताका रुपमा पूर्व सचिव यम भुषाल मधेश भवनस्थित क्वाटरमा घेराउ समेत गरे । बेटी पढाउ–बेटी बचाउ र स्वच्छता अभियान कार्यक्रमका कार्य सम्पन्न भई भुक्तानी बाँकी रहेका करिब तीन दर्जन फाइलहरु पूर्व सचिव भुषाल नै गायब गरेको पीडित व्यवसायीहरुको आरोप छ ।


दुई महिनाअघि सरुवा भएर गएका सचिव भुषाल कुनै काम विशेषले मुख्यमन्त्री कार्यालय आएका थिए, भुक्तानी बाँकी रहेका व्यवसायीहरुलाई थाहा भएपछि उनीहरुले भुषालको बसेका क्वाटरमै घेराउ गरेका थिए । सचिव भुषाललाई व्यवसायीहरुले बिहान ९ बजेदेखि नै घेराउ गरेको हुन् । हराएको फाइल ल्याउनु पर्ने, भुक्तानी गराउनु पर्ने अडान लिएर व्यवसायीहरु उनलाई घेरेका थिए ।

व्यवसायीहरुले पूर्व सचिव भुषालले घेराबन्दी गरेको स्वीकार गर्दै धनुषाका प्रहरी उपरीक्षक बसन्त रजौरेले उनलाई सकुशल घेराबन्दीबाट बाहिर निकालिएको बताएका छन् । तर, व्यवसायीहरुले चाँडै भुक्तानी गराई दिने सहमतिपछि बाहिर जान दिएको बताएका छन् ।

गौरी एण्ड उज्ज्वल कन्स्ट्रक्सका सञ्चालक अरुण यादवले भने, ‘भुषाल छदाँ आफूहरुले कमिसन नदिएपछि उहाँ सरुवा भएर फाइल नै गायब गदिदिनुभयो ।’ भुषाल सरुवा भएर गएपछि मुख्यमन्त्री कार्यालयमा भुक्तानीका लागि जाँदा कर्मचारीहरुले फाइल नै नरहेको भन्दै आएको उनले बताए । भुषाल सचिव छदाँसम्म रहेको फाइल उनैले गायब बनाएको यादवको आरोप छ।

यादवको कन्स्ट्रक्सन कम्पनीले विभिन्न नारा लेखिएको मुख्यमन्त्रीको तस्बिर सहितको होडिंग बोर्डको ३३ लाख रुपैयाँ बराबरको कामको भुक्तानी बाँकी छ । उनले भने, ‘हामी जस्ता ३२ वटा व्यवसायीको बेटी पढाउ, बेटी बचाउ र स्वच्छा अभियानमा काम सम्पन्न भई भुक्तानी बाँकी रहेकाहरुको फाइल गायब छ ।’

त्यस्तै एसके मल्टि सप्लायर्सका सञ्चालक दशरथ साहले सचिव भुषालले कमिसन मागेको आरोप लगाए । ‘अहिले हामी दुई महिनादेखि मुख्यमन्त्री कार्यालय भुक्तानीका लागि धाइरहेका छौं तर, कर्मचारीहरुले फाइल सो कार्यालयमा नरहेको भन्दै आएका छन् ।’

एसके मल्टि सप्लायर्सले प्रदेश प्रमुख कार्यालयमा फर्निचर, मर्मत, शौचालय निर्माणसहितको २५ लाखको काम गरेको थियो । साहकै एसके कन्स्ट्रक्सन कम्पनीले प्रदेश प्रमुखकै कार्यालयको पर्खाल निर्माण र रंगरोगनको गरेको ५ लाख रुपैयाको भुक्तानी पनि बाँकी रहेको छ । यता घेराबन्दीमा परेका सचिव भुषालले भने कमिसन मागेको भन्ने आफूमाथि लगाइएको आरोप गलत रहेको बताए । ‘जहाँसम्म फाइलको कुरा हो, कार्यालयमै हुनुपर्ने हो, म त कतै कुनै फाइल लगेको छैन',उनले भने ।

सरुवा भइसकेपनि अहिले जनकपुरधाममै रहने उनको भनाइ छ । ‘आइतबार वा सोमबार काम सम्पन्न भइसकेका बाँकी रहेका रकम सबै व्यवसायीहरुलाई उपलब्ध गराउन पहल गरिदिनेछु’, उनले भने । उता मुख्यमन्त्री कार्यालयका प्रमुख सचिव कृष्णबहादुर राउतले भुक्तानी बाँकी रहेको फाइल आफूलाई जानकारी नरहेको बताएका छन् ।

सचिव भुषाल मुख्यमन्त्री कार्यालयमै कार्यरत रहेको बेला अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुख्यमन्त्री बेटी पढाउ, बेटी बचाउ कार्यक्रम अन्तर्गत साइकल खरिद सम्बन्धी फाइलहरु अनुसन्धानका लागि लगेको थियो ।


Author

सुभाष कर्ण

कर्ण मधेस प्रदेशस्थित इकागज प्रतिनिधि हुन्।


थप समाचार
x