धनुषामा मतदानस्थल घट्यो, केन्द्र बढ्याे
जनकपुरधाम– आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि धनुषामा मतदान स्थल घटाइएको छ भने मतदान केन्द्र थपिएको छ ।
निर्वाचन कार्यालय धनुषाका प्रमुख श्रीधर पन्थीका अनुसार २०७४ सालको निर्वाचनमा ३ सय २६ मतदान स्थल रहेकोमा आगामी निर्वाचनका लागि ३ सय २३ वटा कायम गरिएको छ भने ५४८ मतदान केन्द्र रहेकोमा यस पटक जिल्लामा थपिएर ५९६ पुर्याइएको छ ।
जिल्लामा प्रमुख निर्वाचन अधिकृतको कार्यालयसँगै १८ वटै स्थानीय तहहरुमा निर्वाचन अधिकृतको कार्यालयसमेत स्थापना भईसकेका छन् भने निर्वाचन अधिकृतसमेत तोकी सकिएको छ । निर्वाचनका लागि स्थानीय तह निर्वाचन ऐन, २०७३ को दफा ७ बमोजिम धनुषा जिल्लाका लागि जिल्ला अदालत धनुषाका जिल्ला न्यायाधीश व्रजेश प्याकुरेललाई मुख्य निर्वाचन अधिकृत तोकिएको छ ।
त्यस्तै, आयोगले औरही गाउँपालिकामा भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका उपसचिव राजेश शशि, क्षीरेश्वरनाथ नगरपालिकामा धनुषा जिल्ला अदालतका स्रेस्तेदार विकास बस्नेत, गणेशमान चारनाथ नगरपालिकामा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अधिकृत रुपेश कुमार साह, कमला नगरपालिकामा जिल्ला सरकारी वकिल कार्यालयका जिल्ला न्यायाधिवक्ता धर्म अवतार कोइराला र जनकनन्दनी गाउँपालिकामा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका उपसचिव ठुलोबाबु दाहाललाई निर्वाचन अधिकृत निर्वाचन आयोगको कार्यालय धनुषाले जनाएको छ ।
उता नगराइन नगरपालिकामा मुख्य न्यायाधिवक्ताको कार्यालयका उपन्यायाधिवक्ता सुदिपकुमार दंगाल, बटेश्वर गाउँपालिकामा उच्च अदालत जनकपुरका उपरजिष्ट्रार उद्धव ढोडारी, धनुषाधाम नगरपालिकामा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अधिकृत चिरञ्जिवी गौतम, धनौजी गाउँपालिकामा उच्च सरकारी वकील कार्यालय जनकपुरका उपन्यायाधिवक्ता पोषराज खनाल, मिथिला नगरपालिकामा न्याय परिषद्का उपसचिव दिपक धिताल, मुखियापट्टी मुसहरनिया गाउँपालिकामा सर्वोच्च अदालतका इजलास अधिकृत शिवहरी पौड्याललाई निर्वाचन अधिकृत बनाइएको छ ।
त्यस्तै, शहीदनगर नगरपालिकामा परराष्ट्र मन्त्रालयका विशाल भट्टराई, सबैला नगरपालिकामा सर्वोच्च अदालतका इजलास अधिकृत बासुदेव पाण्डे, लक्ष्मीनिया गाउँपालिकामा शिक्षा विकास निर्देशनालयका उपसचिव चुडामणि फुँयाल, मिथिला बिहारी नगरपालिकामा उच्च अदालत जनकपुरका उपरजिष्ट्रार राजु पराजुली, विदेह नगरपालिकामा गृह मन्त्रालयका उपसचिव अनुज भण्डारी र हंसपुर नगरपालिकामा सर्वोच्च अदालतका ईजलास अधिकृत कर्णबहादुर राईलाई निर्वाचन अधिकृत तोकेको छ ।
यसैबीच आगामी स्थानीय तह निर्वाचनका लागि धनुषामा राष्ट्रिय दल लगायत ३२ वटा दलहरु दल दर्ता गराएको छ ।
निर्वाचन कार्यालय प्रमुख पन्थीले निर्वाचनमा भाग लिन राष्ट्रिय दलको मान्यता पाएका नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीसहितका ३२ दलले दल दर्ता गराई सकेको जानकारी दिए।
बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा धनुषामा मात्रै ४ लाख ६७ हजार ३२८ जना मतदाता रहेका छन् । जसमध्ये महिला २१ लाख ८ हजार ५४२, पुरुष २४ लाख ८ हजार ८४० र अन्य समूहका ६ जना छन् ।
निर्वाचन व्यवस्थापन अभिमुखीकरण कार्यक्रम बैशाख १ गते सप्तरी, सिरहा, महोत्तरी, सर्लाही, धनुषा र रौतहटका लागि जनकपुरधाममा र बारा र पर्साका लागि बैशाख २ गते हेटौंडामा गरिने निर्वाचन आयोगले जनाएको छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया