यस्तो छ जयनगर–जनकपुरको भाडा दर
जनकपुरधाम– आइतबारदेखि जयनगर–जनकपुरधाम–कुर्थासम्म सञ्चालन भएको रेल्वेको भाडा समेत निर्धारण गरिएको छ । महाप्रबन्धक निरञ्जन झाले टिकट अनलाइन र अफलाइन दुबैको व्यवस्था गरिएको जानकारी दिए ।
नेपाल रेल्वे कम्पनीले जनकपुरधामदेखि जयनगरसम्मको भाडा ७० रुपैयाँदेखि ३५० रुपैयाँसम्म निर्धारण गरेको छ । जनकपुरधामदेखि जयनगरसम्मको सामान्य कोचको ७० र एसी कोचको ३५० रुपैयाँ भाडा निर्धारण गरिएको हो ।
त्यस्तै, जनकपुरधामदेखि परवाहा र कुर्थाको सामान्य कोचको २० र एसी कोचको १००, वैदेहीको सामान्य कोचको २५ र एसी कोचको १२५, महिनाथपुरको सामान्यको ३५ र एसीको १७५, खजुरीको सामान्य कोचको ५५ र एसी कोचको २७५, इनर्वाको सामान्य कोचको ६० र एसी कोचको ३०० रुपैयाँ भाडा निर्धारण गरिएको बताइएको छ ।
आइडी कार्ड भए मात्र रेल चढन पाउने
जनकपुरधाम (कुर्था) जयनगर रेल्वेमा यात्रा गर्न नेपाली र भारतीय दुवै देशका यात्रुका लागि पहिचान खुल्ने खालका आईकार्ड बोक्नुपर्ने सहितका नियम बनाइएको छ । आईकार्ड नभएका व्यक्तिलाई रेल चढन दिइने छैन ।
रेलमा यात्रा गर्दा भारतको जयनगरसम्म जानका लागि नेपाली नागरिकले नागरिकता वा मतदाता पत्र सहितका पहिचान खुल्ने कागजात र भारतीय नागरिकलाई आधारकार्डलाई अनिवार्यता गरिएको छ । पहिचान सहितको कागजात भए मात्र जयनगरसम्म प्रवेश दिइनेछ ।
सुरक्षा र खुला सीमाका कारण नेपाली नागरिकले रेलमा यात्रा गर्दा पासपोर्ट वा नागरिकताको प्रमाणपत्र अनिवार्य रूपले साथमा राख्नुपर्ने हुन्छ । त्यस्तै, आकस्मिक प्रवेशका लागि भारतस्थित नेपालको महावाणिज्य दूतावासद्वारा जारी गरिएको फोटोसहितको सिफारिस पत्र वा प्रमाणपत्र साथमा बोक्न भनिएको छ ।
त्यसैगरी, १० देखि १८ वर्ष उमेरसम्मका बालबालिकाको हकमा स्कुले आइडी कार्ड अनिवार्य साथमा राख्नुपर्नेछ । पहिचान खुल्ने सहितको कागजात अनिवार्यता बारे नेपाल रेलवे कम्पनीका महाप्रबन्धक निरञ्जन झाले भने हाम्रो नेपाली सीमा इनर्वा हल्टसम्म मात्रै छ, जयनगर भारत क्षेत्र भएको हुनाले सुरक्षाको दृष्टिकोण दुवै देशको सहमतिमा यस्तो नियम लगाइएको हो ।
दैनिक दुई पटक सञ्चालन
शनिबार उद्घाटन भएपछि आइतबारदेखि दैनिक रूपमा दुई पटक आउने जाने गरी रेल चल्ने नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक निरञ्जन झाको भनाइ छ ।
आइतबारदेखि बिहान साढे ८ बजे जयनगरबाट कुर्थाका लागि रेल चल्नेछ भने दुई घण्टापछि कुर्था स्टेसनमा पुग्नेछ । जनकपुरधामको कुर्थाबाट पौने ११ बजे जयनगरका लागि निस्किने रेल साढे १२ बजे जयनगर स्टेसनमा पुग्ने महाप्रबन्धक झाले बताए ।
जयनगर गएको रेल पुनः ३ बजे फर्केर आउने छ भने बिहान साढे ८ बजे जयनगरबाट आएको रेल ५ बजेर १५ मिनेटमा फर्कने गरी रेल्वेको समय निर्धारण गरिएको छ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया